परराष्ट्रमन्त्री श्रेष्ठले चीनसँग के-कस्ता विषय उठाउलान् ?

चैत्र ११, २०८० |सुबिन्द्र श्रेष्ठ
परराष्ट्रमन्त्री श्रेष्ठले चीनसँग के-कस्ता विषय उठाउलान् ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन जाँदै छन् । नयाँ गठबन्धन बनेपछि परराष्ट्रमन्त्री बनेका श्रेष्ठको चीन भ्रमण पहिलो हो । उनले छिमेकी देश चीनसँग के-कस्ता विषय उठाउलान् ? उनको यो भ्रमणबाट के अपेक्षा गर्न सकिन्छ ?

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ९ दिन लामो भ्रमण कार्यतालिकासहित आज छिमेकी मुलुक चीन जाँदै छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा हुन लागेको यो औपचारिक भ्रमणमा ठूला परियोजनामा चीनको सहयोगका साथै चिनियाँ ऋणलाई अनुदानमा रूपान्तरण गर्नेलगायत विषय नेपालको प्राथमिकतामा पर्नेछन् । 

उद्घाटन भएर पनि सञ्चालनमा आउन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको चिनियाँ ऋण अनुदानमा परिणत गर्न पहल गर्नुपर्ने विषयमा नेपालमा बहस भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल पनि यो विषयलाई विभिन्न मञ्चहरूमै उठाउने गरेका छन् । 

त्यसैले यसपटक परराष्ट्रमन्त्रीको चीन भ्रमणका अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा चिनियाँ विमान खरिद गर्दाको ऋण मिनाहाका लागि कूटनीतिक पहल हुन सक्ने अनुमान गरिएको छ । छिमेकी मुलुक चीनसँग आर्थिक सहयोग लिने विषयसँगै आफ्नो आवश्यकताअनुसार योजना पनि प्रस्तुत गर्न सक्नुपर्ने कूटनीतिका जानकारको भनाइ छ ।

चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सम्झौता भएको वर्षौंसम्म कार्यान्वयन नभएको अवस्थामा परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमण गर्दै छन् । त्यसका साथै पारवहन सम्झौता कार्यान्वयन, नेपाल चीन व्यापार घाटा र सीमा सुरक्षाका विषय यस भ्रमणमा छलफल हुनेछन् । यसका साथै वैशाखमा हुने लगानी सम्मेलनमा चिनियाँ पक्षको सहभागिता र ठूला आयोजनामा चिनियाँ लगानी भित्राउने विषय यस भ्रमणको महत्त्वपूर्ण पक्ष हुन् । 

बीआरआई परियोजना कार्यान्वयनकै विषयलाई लिएर केही समय अविश्वासको वातावरण सिर्जना भएकोमा परराष्ट्रमन्त्रीस्तरीय यो भ्रमणले आपसी विश्वास बढाउने अपेक्षा गरिएको छ । मन्त्री श्रेष्ठको भ्रमणका क्रममा कुनै सम्झौतामा हस्ताक्षर गर्ने योजना पनि छैन । सुरुमा चिनियाँ विदेशमन्त्री वाङ्ग यीसँगको भेटवार्ता गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङपछि चीनका विभिन्न प्रान्तमा राजनीतिक भेटवार्ता पनि गर्नेछन् । 

उनले चैत १८ गतेसम्म चीनका विभिन्न सहरको घुमघाम तथा कार्यक्रममा सहभागी हुनुका साथै मानसरोवरको यात्रा पनि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठ चैत १९ गते नेपाल फर्किने कार्यक्रम छ ।

यो पनि...

परराष्ट्रमन्त्रीको चीन भ्रमण : गैरभन्सार अवरोध हटाउन निजी क्षेत्रको सुझाव


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।