बागमती सरकार हत्याउन एमाले र माओवादीबीच टकराव

फाल्गुन २६, २०८० |बालकृष्ण अधिकारी
बागमती सरकार हत्याउन एमाले र माओवादीबीच टकराव

हेटौंडा । बागमती सरकारबाट नेपाली कांग्रेस बाहिरिएसँगै प्रदेशको मुख्यमन्त्री आआफूले पाउनुपर्ने दाबी सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रले गरिरहेका छन् । प्रदेशको मुख्यमन्त्री को हुने भन्ने कुरा केन्द्रको निर्णयले मात्रै टुंगिने भएपछि दुवै दलले केन्द्रीय नेतृत्वलाई दबाब बढाएका छन् ।

बागमती प्रदेशमा अघिल्लोपटक एमाले, माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन बन्दा मुख्यमन्त्री बनेका शालिकराम जम्मकट्टेल गठबन्धन फेरिए पनि मुख्यमन्त्री नै रहिरहे । गठबन्धनबाट एमाले र राप्रपा बाहरिए पनि कांग्रेसको समर्थनमा उनी मुख्यमन्त्री कायमै रहे । अहिले संघीय सरकारको समीकरण फेरिएपछि बागमती प्रदेशमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीका वागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी संघीय सरकारमा गठबन्धन फेरिए पनि नेतृत्व परिवर्तन नभएकाले प्रदेशमा पनि नेतृत्व नफेरिने दाबी गर्छन् ।

नेकपा एमालेका प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ भने अघिल्लोपटक माओवादी केन्द्रलाई मुख्यमन्त्री छोडेकाले यसपटक एमालेको मुख्यमन्त्रीमा दाबी रहेको बताउँछन् । प्रदेशका एमाले नेताहरुले एमाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि शीर्ष तहमा दबाब बढाइरहेका छन् ।

बागमती प्रदेशमा सरकार गठनका लागि नेकपा एकीकृत समाजवादी पनि निर्णायक छ । प्रदेशसभामा ७ सदस्य रहेको समाजवादी माओवादी केन्द्र र एमालेमा सहमति नजुटे नेतृत्वका लागि तयार रहेको भन्दै शीर्ष तहमै कुरा गरिरहेको छ । बागमती प्रदेशमा एमालेका २७, माओवादीका २१, समाजवादीका ७ सदस्य छन् । यी सबै मिल्दा पनि सरकार बनाउन आवश्यक संख्या ५६ पुर्‍याउन कठिन छ । नपुग १ सिटका लागि २ सदस्य रहेको हाम्रो नेपाल पार्टी वा ३ सदस्य रहेको नेमकिपाको समर्थन अनिवार्य छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।