रवि लामिछानेमाथि सहकारी ठगीमा छानबिन समिति गठन मान्य हुँदैन : केपी ओली

‘सत्ता नपाएर रन्थनिएको कांग्रेसले अराजनीतिक माग राख्यो’
वैशाख २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेमाथि सहकारी ठगीमा छानबिन समिति गठन मान्य हुँदैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा छानबिन गर्नुपर्ने नेपाली कांग्रेसको माग मान्य नहुने बताउनुभएको छ ।

अध्यक्ष ओलीले गृहमन्त्री लामिछानेको बचाउ गर्दै कांग्रेसले मन्त्रीबाट हटाउने उद्देश्यले छानबिनको माग राखेको र त्यसको पक्षमा आफ्नो पार्टी उभिन नसक्ने बताउनुभएको हो ।

संसद्को बजेट अधिवेशन सुरु हुनुअघि बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस सत्ता नपाएर रन्थनिएको र अराजनीतिक काम गरेको आरोप लगाउनुभयो ।

सहकारीको समग्र समस्याबारे सबैलाई थाहा भए पनि कांग्रेसले गृहमन्त्रीलाई नै लक्षित गरी समिति गठन गराएर राजीनामाको दबाब दिने रणनीति बनाएको आरोप ओलीले लगाउनुभएको हो । उहाँले कसैविरुद्ध उजुरी परेकै भरमा छानबिन नहुने भएकाले प्रतिशोधी राजनीति नगर्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले महान्यायाधिवक्ताले नै लामिछानेविरुद्ध कुनै उजुरी छैन भनेको अवस्थामा कांग्रेसले अनावश्यक माग बोकेर हिँडेको टिप्पणी गर्नुभयो । आफूले भनेको नमानेपछि सहकारीको फाइल बोकेर कांग्रेस हिँडेको उहाँको आरोप छ ।

कांग्रेसले राजनीतिमा छुद्र खेल खेलेको ओलीको आरोप

ओलीले एक सयको नोटमा नेपालको नयाँ नक्सा छाप्ने निर्णयविरुद्ध विज्ञ सल्लाहकारले अभिव्यक्ति दिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग जवाफ माग्नुभयो ।

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले नोटमा नयाँ नक्सा छाप्ने निर्णयबारे विभिन्न सञ्चारमाध्यममा दिएको प्रतिक्रियाप्रति संकेत गर्दै अध्यक्ष ओलीले पार्टीको संसदीय दलको बैठकमै यसबारे प्रतिवाद गर्न सांसदहरूलाई निर्देशन दिनुभयो । सल्लाहकारको भनाइ राष्ट्रपतिको हो कि होइन भनेर उहाँले जवाफसमेत माग्नुभयो । त्यसको जवाफ प्रधानमन्त्रीले दिने कि राष्ट्रपतिले भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले नेपालको राष्ट्रहितविपरीत र विद्वेष भएका व्यक्तिहरूले राष्ट्रपति कार्यालयमा गुँड बनाएर बसेको आरोपसमेत लगाउनुभयो ।

अर्को एक प्रसंगमा ओलीले बजेटका प्राथमिकताबारे भइसकेको छलफल उपलब्धिमूलक हुन नसकेको पनि दाबी गर्नुभयो ।

ओलीले नयाँ ढंगबाट सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.