बालकुमारी घटनामा मुछिएका यातायातमन्त्री ज्वालाले देलान् त राजीनामा ?

फाल्गुन ८, २०८० |सुबिन्द्र श्रेष्ठ
बालकुमारी घटनामा मुछिएका यातायातमन्त्री ज्वालाले देलान् त राजीनामा ?

काठमाडौं । प्रधानमन्त्री भेट्न आज बिहानै पुगेका पत्रकारहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बेलुकासम्ममा बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका बारेमा निर्णय लिने बताए । यसले आज बेलुकीसम्ममा मन्त्री ज्वालाको राजीनामा आउने वा बर्खास्त हुने चर्चा चल्यो । तर दिनभरिमा प्रधानमन्त्रीले न कुनै निर्णय लिए न राजीनामा नै आयो । मन्त्री ज्वाला त ढुक्कसँग मन्त्रालयमा काम गरिरहेको भेटिए ।

बालकुमारी घटनाको सम्बन्धमा छानबिन गर्न गठित आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितलाई दोषी देखाउँदै गत शुक्रबार प्रतिवेदन बुझायो । त्यसबारे प्रतिक्रिया लिन खोज्दा सुर्खेतमा रहेका मन्त्री ज्वालाले अहिले बोल्ने बेला नभएको भनेका थिए । शनिबार उनले प्रतिवेदन आफूले अध्ययन गर्न नभ्याएको बताए । उनी संलग्न पार्टीका नेताहरुले पनि प्रतिवेदन अध्ययन गर्न नपाएको भन्दै पन्छिए ।

पार्टीले यसबारेमा अध्ययन गर्ने नेताहरुको प्रतिक्रिया थियो । आइतबार सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आफूले प्रतिवेदन अध्ययन गर्न नपाएको बताए । तर उनले स्पष्ट शब्दमा बालकुमारी घटनामा दुई युवकको हत्या भएको उल्लेख गरे । त्यही साँझ बस्दै गरेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन बुझ्ने र आवश्यक कारबाही गर्ने दाहालको भनाइ थियो । त्यसगलत्तै सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री दाहाललाई प्रतिवेदन बुझाएका पनि थिए । तर त्यसरी प्रतिवेदन बुझेकै पनि दुई दिन बितिसकेको छ ।

मंगलबार दिनभर मन्त्रालयको काममा रहेका ज्वालाले आयोगले बुझाएको प्रतिवेदन आफूले अध्ययन नगरेको र तत्काल राजीनामा दिने मनस्थितिमा पनि नरहेको कान्तिपुर टेलिभिजनलाई प्रतिक्रिया दिन भ्याए । उनले अहिलेसम्म आयोगले बुझाएको प्रतिवेदनमाथि टिप्पणीसमेत गरेका छैनन् ।

नैतिकताका आधारमा घटना भएको दिन गत पुस १३ गते नै राजीनामा दिनुपर्नेमा छानबिन आयोगले ज्वालालाई दोषी करार गरेर प्रतिवेदन नै बुझाइसकेको र गृहमन्त्री हुँदै त्यो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहालको हातमा पुगिसक्दा पनि न त प्रधामन्त्रीले उनलाई बर्खास्त गरेका छन्, न त उनको राजीनामा नै आयो । मन्त्रीका रुपमा उनलाई सरकारमा पठाएको पार्टी एकीकृत समाजवादी पनि चुपचाप छ । यति मात्र होइन, पाँच दिनसम्म पनि प्राप्त छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारले चासो दिएको छैन ।

गृहमन्त्री श्रेष्ठलाई शुक्रबार बुझाएको प्रतिवेदनबारे प्रधानमन्त्री दाहालले आइतबारको संसद् बैठकमा प्रतिवेदन प्राप्त हुनसाथ कारबाही अघि बढाउने आश्वसन संसद्‌लाई दिएका थिए ।

सोमबार ज्वालाको विषयलाई लिएर सत्तारुढ तीनदलका शीर्ष तीन नेता प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भए पनि त्यसबारे कुनै कुरा सार्वजनिक गरिएन ।

बालुवाटारमा मंगलबार बिहान पत्रकारहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले ज्वालाबारे साँझसम्ममा निर्णयमा पुग्ने सुनाए । तर यतिबेलासम्म कारबाहीको कुनै छनक सरकारले देखाएको छैन । नागरिकको ज्यान जाने गरी भएको घटनामा दोषी देखिएका मन्त्रीमाथि हुनुपर्ने कारबाहीमा देखिएको यो सुस्तताले सुशासन र न्यायप्रति सरकारको प्रतिबद्धतामा गम्भीर प्रश्न उठाएको छ । अर्कोतर्फ, दोषी ठहर व्यक्ति जिम्मेवारीबाट अलग हुनु नै कारबाहीको अन्तिम विन्दु हो त ? भन्ने प्रश्न पनि ताजै छ ।


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।