काठमाडौं । औपचारिक रुपमा निम्तो नपठाए पनि विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको तयारी थालेका छन् । उनले हिजो संसद् बैठकपछि बाहिरिने क्रममा पनि यही चैत मसान्तभित्रै भारत भ्रमण गर्ने बताएका थिए । नेपालमा पद सम्हालेलगत्तै नयाँ प्रधानमन्त्री भारत भ्रमण गर्न किन हतारिन्छन् ?
२०६५ मा पहिलोपटक प्रधानमन्त्री भएलगत्तै पुष्पकमल दाहाल ओलम्पिक समापन समारोहमा सहभागी हुन बेइजिङ पुगे । नेपालमा प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने परम्परालाई उनले तोडेको चर्चा त्यतिबेला गरियो । यसबाट भारतसमेत रुष्ट भएको टिप्पणी गरियो । त्यसपछि २०७३ मा प्रधानमन्त्री हुँदा उनले पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै गरे । यसपटक पनि उनी भारत नै जान हतारिएको भान हुन्छ ।
प्रधानमन्त्रीमा नियुक्त भएको तेस्रो दिन पुस १२ मा भारतीय टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै उनले आफ्नो पहिलो विदेश भ्रमण भारत नै हुने बताएका थिए । गत फागुन पहिलो साता आएका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री दाहालसँग भेटेर अनौपचारिक रुपमा भारत भ्रमणको निम्तो दिएको बताइन्छ । तर भ्रमणको मिति टुंगो नलगाई क्वात्रा फर्किएका थिए ।
प्रधानमन्त्री दाहालले राष्ट्रपतिको चुनावपछि भ्रमण गर्ने बताएका थिए । तर, त्यसयता लिखित रुपमा भारतले कुनै निम्तो नपठाएको प्रधानमन्त्रीको कार्यालय बताउँछ । परम्पराभन्दा पनि कुन मुलुकमा जाँदा राष्ट्रिय हितका विषय सम्बोधन हुन्छन्, कुन मुलुकसँगका मुद्दा महत्त्वपूर्ण छन्, त्यहीको भ्रमणलाई प्राथमिकता दिनुपर्ने विज्ञको भनाइ छ ।
चिनियाँ राजदूतले भेटेरै निम्तो दिए पनि प्रधानमन्त्री दाहाल चीनको हेनानमा आयोजना हुने बोआओ फोरममा सहभागी नहुने भएका छन् । उनले उक्त सम्मेलनमा सहभागी हुन बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई निर्देशन दिइसकेका छन् । बरु प्रधानमन्त्रीले भारत भ्रमणको मिति तय गर्न जोडबल गरिरहेको बुझिन्छ । परराष्ट्र मामिलाका जानकारहरु भने यस्तो बेला दुवै छिमेकीसँगको सन्तुलित परराष्ट्र सम्बन्धलाई ध्यान दिनुपर्ने बताउँछन् ।
भूराजनीतिक बाध्यताका कारण पनि नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने परम्परा बसेको टिप्पणी गर्ने गरिन्छ । कानुनमा नलेखिएकाले जुन देशको भ्रमण गर्दा पनि हुन्छ । तर, सत्ता र राजनीतिक फाइदाभन्दा मुलुकको राष्ट्रिय स्वार्थ र चासोलाई चाहिा केन्द्रविन्दुमा राखिनुपर्छ ।