पुराना अनुमोदन भएनन्, बाँकेका जनतालाई नयाँकै भर (भिडियो रिपोर्ट)

मंसिर १०, २०७९ |जे पाण्डे
पुराना अनुमोदन भएनन्, बाँकेका जनतालाई नयाँकै भर (भिडियो रिपोर्ट)

बाँके । पश्चिम तराईका जिल्लामध्ये बाँकेका मतदाताले यो निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभातर्फ कुनै पनि राजनीतिक पार्टीको वर्चश्व कायम हुन दिएनन् । संघीय र प्रदेश सरकारमा हालिमुहाली गरेका उम्मेदवारको साटो बहुसंख्यक नयाँ अनुहारलाई बढी रुचाएको निर्वाचनको नतिजाले देखाएको छ ।

सरकारका बहालवाला युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको दाँजोमा बाँके क्षेत्र नम्बर १ का मतदाताले नयाँ अनुहार त्यो पनि पहिलोपटक संसदीय यात्रा तय गरेका एमालेका उम्मेदवार सूर्यप्रसाद ढकाललाइ प्रतिनिधिसभा सदस्यका लागि योग्य सम्झे । २०७४ को निर्वाचनमा एमालेकै उम्मेदवार पराजित गरेका माओवादी केन्द्रका गहतराज यो निर्वाचनमा पुन अनुमोदित हुन सकेनन् । प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैतिर कसैको पनि बहुमत नभएका बेला पहिलोपटक उदायका अनुहारसमक्ष सुरुमै सरकार कसरी गठन गर्ने भन्ने चुनौती देखिएको छ ।

गतहराजकै जस्तो अवस्था देखियो जनता समाजवादी पार्टी नेपालका उम्मेदवार मोहम्मद इस्तियाक राईको पनि । पटक-पटक मन्त्री समेत भइसकेका राईको साटो १० वर्ष नेपालगन्ज उपमहानरको बागडोर सम्हालेका राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर जबरालाई स्थानीय सरकारबाट जुरुक्क उचालेर संघीय संसदमा पुर्‍याएका छन् । कुशल नेतृत्व आयो भने देश अगाडि बढ्ने बताउँछन् राप्रपाबाट क्षेत्र नम्बर २ बाट विजयी धवलशमशेर जबरा । उता गठबन्धनबाट सरकार बनाउने संख्या पूरा नभए अरु पार्टीहरुलाई कसरी समावेश गराउने भन्नेतिर पार्टीको ध्यान केन्द्रित रहेको क्षेत्र नम्बर ३ बाट विजयी कांग्रेसका किशोरसिंह राठोर बताउँछन् ।

२०७४ को निर्वाचनमा बाँकेकै क्षेत्र नम्बर ३ मा प्रतिनिधि तथा प्रदेशसभातर्फ एमालेले वर्चश्व कायम गरेको थियो । तर मंसिर ४ को निर्वाचनमा पासा पल्टिएको छ । राजनीतिक आगन्तुकका रुपमा बर्दियाबाट आइपुगेका नेपाली कांग्रेसका सह-महामन्त्री तथा उम्मेदवार किशोरसिंह राठोर एमालेका किस्मतकुमार कक्षपतिको राजनीतिक किस्मतमा तगारो साबित हुँदै जित हात पारे ।

निर्वाचनमा चर्चित र प्रभावशाली ठानिएका नेताहरुको साटो नयाँ अनुहारलाई चुनेका मतदाताहरु धेरै आशावादी भने देखिँदैनन् ।

६ जना प्रदेशसभा सदस्यमध्ये एकजना महिला र एकजना पुरुष गरी २ जना पुराना अनुहार दोहोरिएका छन् । बाँकी सबै नयाँ छन् । बाँकेका तीन क्षेत्रबाट चारथरी विचार, सिद्धान्त र नीति बोकेका उम्मेदवारहरु निर्वाचित भएका छन् । यस्तो अवस्थामा उनीहरु एकजुट भएर बाँकेको समस्याको समाधान कसरी गर्छन् त्यो भने हेर्न बाँकी छ । तर नेकपा एमालेले सबैलाई समेटेर सबैको सहयोग र साथमा सरकार बनाउनका निम्ति पहल र प्रयत्न गर्ने क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सूर्यप्रसाद ढकाल बताउँछन् ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।