दैलेख । भैरवी गाउँपालिका–६ मा बँदेलको आक्रमणमा परी ७ जना घाइते भएका छन् । घरनजिकै रहेको जङ्गलबाट गाउँ पसेको बँदेलले बारीमा गँहु काटिरहेका किसानलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।
घाइते हुनेमा गणेश सिजाली, लछुमन पुन मगर, रत्नबहादुर बराल, तर्कबहादुर पुन मगर, पूर्णबहादुर सिजाली, जयबहादुर थापा मगर र तिलक पौडेल छन् ।
बँदेलको आक्रमणमा परी घाइते भएकाहरुको स्थानीय खम्बागाडे बजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गत फागुनमा सोही वडाकी ६३ वर्षीया पवित्रा कँडेललाई बँदेलले घरमै आक्रमण गरेको थियो । पवित्राको खुट्टा र हातमा बँदेलले टोकेको थियो ।
भैरवी गाउँपालिका वडा १ देखि ७ सम्मै बँदेलका कारण खाद्यान्न तथा अन्नबाली जोगाउनै धौ–धौ हुने स्थानीयले बताएका छन् । बँदेलले बर्सेनि अन्नबालीमा क्षति पुर्याउनुका साथै आक्रमण समेत गर्दै आएको छ ।