
रामेछाप । निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको एक गाडी रामेछापमा दुर्घटनामा परेको छ।
स्थानीयका अनुसार रामेछाप नगरपालिका-२ स्थित वडा कार्यालय नजिकैको स्वामीडाँडा भीरबाट गाडी झरेको हो। दुर्घटनाग्रस्त गाडी वडा नं. २ स्थित शीतलादेवी मतदान केन्द्र र वडा नं. ३ स्थित साघुटार वडा कार्यालय मतदान केन्द्रका लागि निर्वाचन सामग्री तथा कर्मचारी लिएर जाँदै गरेको जनाइएको छ।
दुर्घटनाग्रस्त गाडीमा सुरक्षाकर्मी, कर्मचारी गरी पाँचदेखि सात जना रहेको भन्ने आएको र अन्य कुरा खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले बताउनुभयाे । अप्ठेरो र भीरालो स्थानबाट गाडी खसेकाले मानविय तथा भौतिक क्षतिको यकिन विवरण हालसम्म प्राप्त हुन सकेको छैन। सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी रहेको छ।