मध्यपूर्व द्वन्द्वको प्रभाव : पश्चिम एसियाभरका हवाई उडान प्रभावित, काठमाडौं-दोहा सेवा स्थगित

फाल्गुन १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मध्यपूर्व द्वन्द्वको प्रभाव : पश्चिम एसियाभरका हवाई उडान प्रभावित, काठमाडौं-दोहा सेवा स्थगित

काठमाडौं । इरानमा अमेरिका र इजरायलको सैन्य आक्रमणपछि पश्चिम एसियाभरका हवाई उडान प्रभावित भएका छन् ।

आक्रमणपछि इजरायलले नागरिक उडानका लागि आफ्नो हवाई क्षेत्र पूर्णरूपमा बन्द गरेको छ । यस्तै बिज एयर, टर्किस एयरलाइन्स, लुफ्थान्सा, केएलएम तथा ओमान एयरले आफ्ना विभिन्न गन्तव्यतर्फका उडान स्थगित गरेका छन् । रूस, कुवेत, सिरिया तथा इराकले इरान तथा इजरायलतर्फका हवाई सेवा बन्द गरेका छन् भने खाडी मुलुकहरू कतार कुवेत र यूएईले आफ्नो हवाई सेवा बन्द गरेका छन् ।

भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् । मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै सबै उडान स्थगित गरिएको एयर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ । 

इन्डिगोले पनि ग्राहक र चालक दलका सदस्यहरूको सुरक्षालाई ध्यानमा राख्दै अस्थायी रूपमा उडानहरू स्थगित गरिरहेको बताएको छ । कतार एयरवेजले काठमाडौंबाट दोहातर्फ उडान हुने तथा दोहाबाट सञ्चालन हुने आफ्ना सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ। 

कतारले दोहा-काठमाडौंमा दैनिक तीन वटा उडान गर्दै आएको छ । यसबाहेक नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले पनि दोहाका लागि उडान गर्छन् । दुबई र आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द गरिएका छन् । यसैबीच, नेपाल नागरिक उड्डययन प्राधिकरणले मध्यपूर्वमा उत्पन्न हालको हवाई क्षेत्र प्रतिबन्धलाई नजिकबाट अवलोकन गरिरहेको जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग समन्वय गरिरहेको जनाएको छ । 

अन्तर्राष्ट्रिय यात्रासम्बन्धी कुनै तत्काल समस्या भए त्यसको जानकारी समयमै अपडेट गरिने प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.