इजरायल र इरान द्वन्द्व चर्किँदा खाडीमा त्रास : १९ लाख नेपालीको सुरक्षामा चिन्ता

फाल्गुन १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
इजरायल र इरान द्वन्द्व चर्किँदा खाडीमा त्रास : १९ लाख नेपालीको सुरक्षामा चिन्ता

काठमाडौं । इजरायल र इरानबीच आक्रमण सुरू भएसँगै खाडी क्षेत्रको सुरक्षा अवस्थालाई लिएर चिन्ता बढेको छ । 

खाडी क्षेत्रमा मात्रै करिब १९ लाख नेपाली कार्यरत छन् । सबैभन्दा बढी संयुक्त अरव इमिरेट्स (यूएई)मा ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेत १ लाख ७५ हजार, बहराइन ३० हजार र ओमान २५ हजार कार्यरत छन् । 

इराकमा २५ हजार, इजरायलमा ५ हजार, लेबनानमा १ हजार नेपाली रहेका छन् । अमेरिकी आक्रमणपछि इरानले कतार, साउदी, बहराइन, यूएई र कुवेतमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको छ । यूएईको राजधानी आबुधाबी र दुबईमा आक्रमण भएको छ । 

यूएईमा एसियाली मूलकका एक जनाको मृत्यु भएको जनाइएको छ । यूएईले उक्त आक्रमणलाई ‘राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन’ भन्दै कडा शब्दमा निन्दा गरेको छ । यूएईले आफ्नो नागरिक र आप्रवासीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । 

यूएईमा रहेको नेपाली दूतावासले ‘अनावश्यक यात्रामा ननिस्कन, सावधानी अपनाउन, यूएई सरकारले जानकारी गरेको सुरक्षा मार्गदर्शन एवं सूचना पालना गर्न’ अनुरोध गरेको छ । कतारको आप्रवासी श्रमिक बस्ने वरुवा सिटीको एक भवन विस्फोट भएको छ । त्यसमा कुनै मानवीय क्षति भएको रिपोर्ट नआएको अलजजिराले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.