
काठमाडौं । निर्वाचनसँगै लामो बिदा परेकाले ८ लाखले उपत्यका छाड्ने यातायात व्यवसायीले अनुमान गरेका छन् ।
सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ भने फागुन १८ गते पहाडी क्षेत्र र १९ गते तराईमा फागू पूर्णिमाको बिदा परेको छ ।
फागुन २३ गते शनिवार र २४ गते ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवसको बिदा परेको छ । यसरी फागुन १८ देखि २४ सम्म सात दिन बिदा हुनेभएपछि दशैँ तिहारमा जस्तै यसपटक धेरैले उपत्यका छाड्ने तयारी गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले ६-७ दिनको सार्वजनिक बिदाको कारणले सार्वजनिक यातायातमा चाप पर्न थालेको बताउनु भयो ।
१९ गतेसम्मका लागि लामोदूरीका गाडीहरूमा भीडभाड रहेको उहाँको भनाइ छ । सिटौलाकाअनुसार १७ देखि १९ गतेसम्म थेगिनसक्नु भीड छ । धेरैले गाडी रिजर्व समेत गर्न थालिसकेका छन् । सिटौलाकाअनुसार लामो दूरी कञ्चनपुर, डडेलधुरादेखि अर्घाखाँची, गुल्मी, पाल्पाजस्ता जिल्लामा १९ गतेपछि गाडी जानसक्ने अवस्था रहने छैन ।
मध्यम दूरी काभ्रे, धादिङ सिन्धुपाल्चोकसम्मका दूरीमा गाडी भने चल्नेछन् । यातायात व्यवस्था विभागले पनि आम निर्वाचनको असापासमा धेरै बिदा परेकाले यात्रु बाहिर जाने भएकाले सार्वजनिक यातायातलाई चुस्त राखिने बताएको छ । विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायात प्रणालीलाई चुनावका बेला चुस्तदुरूस्त राख्न योजनाबद्ध तवरले विभाग लागिरहेको बताउनु भयो ।
उहाँले निर्वाध रूपमा सार्वजनिक यातायातबाट नागरिकलाई सुरक्षित गन्तव्यमा पुर्याइने बताउँदै अपुग भए नेपाली सेनादेखि स्कुल, कलेजका सवारी साधनसमेत सरकारले प्रयोग गरेर चलाउने बताउनु भयो ।