मतदानकै दिन साँझदेखि मतगणना सुरू हुने : नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य

फाल्गुन १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
मतदानकै दिन साँझदेखि मतगणना सुरू हुने : नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य

काठमाडौं । निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन साँझबाट मतगणना सुरू गर्ने योजना बनाएको छ ।

मतदाताको प्रतिक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभएको हो । निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्नेगरी तयारी तिव्र पारेको उहाँले बताउनु भयो । 

प्रवक्ता भट्टराईकाअनुसार विगतका अनुभवहरूलाई ध्यानमा राख्दै यो पटक मतपेटिका सङ्कलन गर्ने समयलाई उल्लेख्य रूपमा घटाइनेछ । आयोगको योजनाअनुसार मतदान सकिएकै दिन साँझबाट मतगणना सुरू गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । यसका लागि राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनुपूर्व नै मतगणना स्थल र आवश्यक व्यवस्थापन मिलाइसकिने उहाँले बताउनु भयो । 

मतदाताहरूको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले यो ‘गुड इन्टेन्सन’ राखेको प्रवक्ता भट्टराईले स्पष्ट पार्नुभयो । स्थानीय स्तरमा आउनसक्ने प्राविधिक कठिनाइहरूलाई ध्यानमा राख्दै आयोगले अप्टिमम रूपमा काम गर्ने लक्ष्य लिएको छ । धेरैजसो निर्वाचन क्षेत्रमा मतगणना स्थलहरू जिल्ला सुरक्षा समितिसँगको समन्वयमा तोकिसकिएको पनि उहाँले जानकारी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.