
काभ्रे । नेपाल प्रेस युनियनले हरेक वर्ष प्रदान गर्दै आइरहेको पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी पुजन धिताल सम्मानित हुनुभएकाे छ ।
शुक्रबार बनेपामा आयोजित उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार कार्यक्रममा धिताललाई नगद, सम्मानपत्र र दोसल्लासहित सम्मानित गरिएको हो । २०६६ सालमा डाँडापारीबाट ललितपुरको गोतीखेल जाने क्रममा सवारी दुर्घटनाबाट मृत्यु वरण गरेकी स्वर्गीय उर्मिला सापकोटाको सम्झनामा परिवारले यो पुरस्कार प्रदान गर्दै आएको हो ।
धिताल एक दशकदेखि काभ्रेली पत्रकारितामा क्रियाशील हुनुहुन्छ । उहाँ नमोबुद्ध मिडिया प्रालिका प्रबन्ध निर्देशकसमेत हुनुहुन्छ भने सबैको समाचारका कार्यकारी सम्पादकसमेत हुनुहुन्छ । उहाँले यसअघि इमेज टेलिभिजन, ग्यालेक्सी टेलिभिजन तथा विभिन्न पत्रपत्रिका र एफएम रेडियोमा कार्य गरेको अनुभव छ ।
उहाँले यस वर्ष डाँडापारी क्षेत्र समेटेर कृषि, सडक र शिक्षा क्षेत्रमा लेखेका समाचारका आधारमा मूल्याङ्कन समितिको मूल्याङ्कनअनुसार पुरस्कृत गरिएको हो । पुरस्कार वितरण समारोहमा बोल्दै संरक्षक स्वर्गीय उर्मिला सापकोटाका बाबु गोपाल कृष्ण सापकोटाले डाँडापारी क्षेत्रका समस्या समेटेर समृद्ध डाँडापारी निर्माणका लागि कलम चलाउने सञ्चारकर्मीलाई पुरस्कृत गर्ने यो दिनले आफूलाई छोरीको तिथि सम्झाउनेसँगै उसको सम्झना ताजा गराउने बताउनुभयो ।
सम्मान कार्यक्रमकै बीच प्रेस युनियन काभ्रेका प्रदेश पार्षद स्वर्गीय हिरा काजी लामा र स्वर्गीय उर्मिला सापकोटाको सम्झनामा मौनधारण तथा दीप प्रज्वलनसहित श्रद्धाञ्जलि प्रकट गरिएको थियो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपानेले युनियनले आयोजना गर्ने यस पत्रकारिता पुरस्कारले पत्रकारलाई हौसला प्रदान गर्दै आएको र यसको निरन्तरताका लागि संरक्षक परिवारजनमा धन्यवाद व्यक्त गर्नुभयो ।
सम्मान समारोहमा काभ्रे पत्रकार महासंघका पूर्व अध्यक्षहरू, पेशागत सङ्गठनका अध्यक्षहरूलगायत सक्रिय सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।