.png&w=1000&height=550)
नेपालगञ्ज । थारु समुदायको पहिचान, संस्कृति र सामाजिक एकताको प्रतीक पर्व माघी बाँकेमा पनि धूमधामका साथ मनाइँदैछ।
माघीले श्रम, सम्मान र समुदायबीचको सहकार्यको सन्देश बोकेको छ। हरेक वर्ष माघ १ गते मनाइने माघी थारू समुदायको सबैभन्दा ठूलो मौलिक पर्व हो। माघीमा परिवारका सदस्यहरू एक ठाउँमा भेला भई परम्परागत खानपान, नाचगान र संस्कारको पालना गर्छन्।
विशेषगरी ढिक्री, घोंगी, माछा, सुँगुरको मासुका परिकारले माघीको रौनक बढाउँछन्। माघी केवल भोजको पर्व मात्र होइन, सामाजिक सम्बन्ध नवीकरण गर्ने, आपसी विवाद समाधान गर्ने र नयाँ जिम्मेवारी बाँडफाँड गर्ने अवसर पनि हो। माघीका अवसरमा गाउँमा गुर"वा पूजा, सामुहिक जमघट र नृत्य आयोजना गरिन्छ। युवापुस्ता आफ्नो मौलिक पहिचानप्रति गर्व गर्न सिक्छन् भने ज्येष्ठ नागरिकहरूले अनुभव साटासाट गर्छन्।
संस्कृति, सहकार्य र सद्भावको सन्देश बोकेको माघी पर्वले थारू समुदायको मौलिकता झल्काउँछ। बदलिँदो समयसँगै आफ्नो पहिचान नबिर्सी अघि बढ्ने थारुहरूको संकल्प माघीमार्फत अझ बलियो बनेको छ।
कान्तिपुर समाचारका लागि रेजिना मल्ल नेपालगञ्ज, बाँके।