
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश प्रदेशमा २०८३ फागुनमा आयोजना हुने ११ औं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीमा जुट्ने निर्णाय गरेको छ ।
खेलकूद तथा समाज कल्याण मन्त्री बसन्त कुशवाहाको अध्यक्षतामा बसेको मधेश प्रदेश खेलकूद परिषदको तेस्रो बैठकले ११ औं राष्ट्रिय खेलकूद प्रतियोगिता संचालनका लागि पुर्वाधार निर्माण कार्यलाई अगाडि बढाउने र सुर्खेतमा हुने १० औं राष्ट्रिय खेलकूद प्रतियोगितामा सक्रिय सहभागिताका लागि तयारी सुरु गर्ने निर्णाय गरेको हो ।
खेलकुद तथा समाज कल्याण मन्त्री नियुक्त भएको एक साता भित्र जनकपुरधाम स्थित मन्त्रालयमा बसेको खेलकुद परिषदको बैठकले मधेश प्रिमियर लीग चैत्रमा संचालन गर्ने निर्णय समेत गरेको हो ।
यसका साथै मधेश प्रदेशमा खेलकुदको गतिविधिलाई लयमा फर्काउन खेलकूद सम्बन्धी वार्षिक क्यालेन्डर तयार गर्ने, सम्पूर्ण खेलहरूको स्थल तथा निर्माण कार्य सम्बन्धी मापदण्ड तयार गर्ने, खेलकूद स्वयंसेवकहरूको रोस्टर तयार गरि सामुदायिक बिद्यालयहरूमा प्रशिक्षकको जिम्मेवारी दिन अविलम्ब पहल थाल्ने र मधेश प्रदेशमा रहेका खेलकूदसँग सम्बन्धित संघ संस्थाहरुको दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय भएको मधेश खेलकुद परिषद्का अध्यक्ष समेत रहनु भएका खेलकुद तथा समाज कल्याण मन्त्री बसन्त कुशवाहाले जानकारी दिनुभयो ।