सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु हो : प्रधानमन्त्री कार्की

आश्विन ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु हो : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताउनुभएको छ ।

शुक्रबार अपरान्ह सिंहदरबारमा नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग पहिलो पटक सामुहिक भेटगरी उहाँले आफू नेतृत्वको अन्तरिम सरकारको कामको प्राथमिकताबारे ब्रिफिङ गर्नुभएको हो । 

परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहनुभएकी प्रधानमन्त्री कार्कीले नेपालको विदेश सम्बन्ध र त्यसका नीतिका बारेमा पनि आफ्नो धारणा राख्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो । 

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहयोगको अपेक्षा गरिएको पनि बताउनु भएको थियो । उहाँले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षक परिचालन र विदेशमा रहेका सबै नेपालीहरूलाई पनि मतदानमा सहभागी गराउने विषयमा पनि छलफल भइरहेको बताउनुभएको थियो । 

फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका सबै नेपाली नागरिकलाई मतदानमा भाग लिन लगाउने विषयमा पनि आफूले छलफल गरिरहेको कुरा पनि प्रधानमन्त्री कार्कीले राजदूतहरूसँग गर्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीसँगको भेटमा नेपालस्थित विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.