चितवन । चितवनका विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई जिल्लाका होटल तथा लजमा ७५ प्रतिशत छुट दिइने भएको छ ।
सरोकार भएकाहरूसहित शनिबार जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न बैठकले होटलको कोठा भाडामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।
चितवन जिल्ला प्रवेश गरेका र सवारी आवागमन बन्द भएका कारण गन्तव्यमा पुग्न नसकेका यात्रुलाई जिल्लाभरका सबै प्रकारका होटलमा लिँदै आएको कोठा भाडामा ७५ प्रतिशत शुल्क छुट दिने निर्णय भएको उहाँले बताउनुभयो ।
निर्णय कार्यान्वयनका अवस्था बुझ्न होटल सङ्घ चितवन र जिल्ला प्रहरी कार्यालयले अनुगमन गर्ने पनि प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो ।
होटल व्यवसायी सङ्घका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले अलपत्र परेका यात्रुले आफूलाई ९८५५०१४१८० मा सम्पर्क गर्न सक्ने बताउनुभयो । उहाँले बाध्यता हेरेर कतिपयलाई निःशुल्क बस्ने व्यवस्थासमेत गरिने बताउनुभयो ।
क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष सुवासचन्द्र गौतमले आफ्नो निजी होटलमा अलपत्र परेका ४० जनालाई दैनिक निःशुल्क सेवा दिने बताउँदै अन्यलाई प्रशासनको निर्देशनअनुसार ७५ प्रतिशत छुट दिने बताउनुभयो ।
चितवनको मुग्लिन, नारायणगढ, भरतपुर, टाँडी, पर्सालगायत क्षेत्रमा अलपत्र यात्रुले प्रहरीसँगको समन्वयमा होटलमा छुट सुविधा लिएर बस्न सक्ने छन् ।-रासस