प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति सभामुख घिमिरेको असन्तुष्टि

आश्विन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति सभामुख घिमिरेको असन्तुष्टि

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ ।

बिहीबार संघीय संसद् भवनको क्षतिग्रस्त संरचनाको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो असन्तुष्टि राख्नुभएको हो । प्रतिनिधि सभा विघटन नगरी त्यसैबाट समाधान खोज्दा राम्रो हुनेमा त्यस्तो हुन नसकेको उहाँको भनाइ छ । 

उहाँले जेन-जी पुस्ताको आन्दोलनको उद्देश्यको राम्रोसँग अध्ययन गरेर मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । आन्दोलनका क्रमममा मुलुकले व्यहोरेको क्षति दुःखदायी भएको भन्दै उहाँले सबैले एकआपसमा मिलेर मुलुकलाई ठिक ढंगले अगाडि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो आन्दोलन के हो ? गर्न खोजेको के हो ? सबैकुराहरू राम्रैगरी अध्ययन गर्नुपर्छ । हामीले जे व्यहोरिरहेका छौं त्यो ज्यादै दुःखद् कुरा हो । यसबाट उठेर ठिक ढंगले अगाडि जानुपर्ने हामी सबैको दायित्व छ । यो बेलामा सबै लागौं । यी सबै दुर्घटनाहरू नहुनुपथ्र्यो । मुलुकमा व्याप्त समस्याहरूलाई अलिक राम्रो ढंगले समाधान गर्न बाटाहरू खोज्न सकिन्थ्यो होला । त्यो हुन सकेन । प्रतिनिधि सभा विघटन नगरीकन यसैबाट समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो ।’

सभामुख घिमिरेले अन्तरिम सरकारको काँधमा ठुलो जिम्मेवारी रहेको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने कामना पनि व्यक्त गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.