धनकुटा । साना सिँचाइ आयोजनामार्फत धनकुटामा तीन हजार ४ सय ३३ हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार भएको छ । २०७७ सालयता निर्माण र सञ्चालनमा आएका ७१ करोड ३५ लाख रूपैयाँ लागतका एक सय ७४ वटा आयोजनाबाट धनकुटाका करिब आठ हजार घरधुरी उपभोक्ता लाभान्वित भएका छन् ।
धनकुटामा सञ्चालनमा आएका तथा निर्माणाधीन आयोजनाका लागि स्वीस सरकार विकास सहयोगले पनि कुल लागतको ३० प्रतिशत रकम उपलब्ध गराएको छ । धनकुटा नगरपालिकामा मात्रै ६ वर्षमा २७ वटा सिँचाइ आयोजना सम्पन्न भई सञ्चालनमा आएका छन् ।
यसबाट तीनहजार ३३ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । यी आयोजना सम्पन्न गर्न धनकुटा नगरपालिमामा मात्रै करिब सात करोड रूपैयााँ लगानी भएको छ । सुख्खाग्रस्त ठाउँमा सिँचाइ सुविधा उपलब्ध भएपछि आकासेपानीको भरमा खेती गर्दै आएका किसान धान, तरकारी, फलफूल र नगदेबाली उत्पादनमा लागेका छन् । उपलब्ध भएका स-साना मूलको पानी व्यवस्थित गरि सुक्खाग्रस्त ठाउँमा वर्षैभरी पानीको व्यवस्था गरेर कृषि उत्पादनमा वृद्धि गर्नु साना सिँचाइ परियोजनाको उद्देश्य रहेको छ ।