प्रधानमन्त्रीको चीन भ्रमण : त्रिदेशीय साझा एजेन्डामा छलफल गर्न विज्ञको सुझाव

प्रधानमन्त्री ओली भदौ १४ मा चीन जाँदै
श्रावण २९, २०८२ |दशरथ राई
प्रधानमन्त्रीको चीन भ्रमण : त्रिदेशीय साझा एजेन्डामा छलफल गर्न विज्ञको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक वर्षभित्रै दोस्रो पटक चीन भ्रमणमा जानु हुने भएको छ । प्रधानमन्त्री ओली संघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आगामी भदौ १४ गते चीन जान लाग्नुभएको हो ।

संघाई सहयोगको शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुने कार्यक्रम छ । सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता हुने सम्भावना छ । भदौ अन्तिम साता भारत जाने तयारीमा रहनुभएका प्रधानमन्त्री ओलीलाई चीन भ्रमणका क्रममा त्रिदेशीय साझा एजेन्डा र विवाद समाधानका विषयमा छलफल गर्न विज्ञले सुझाव दिएका छन् ।

रुस युक्रेन युद्धका कारण शक्ति राष्ट्रहरुबीच ध्रुवीकरण बढीरहेका बेला दुई शक्तिशाली राष्ट्र चीन र भारतका शीर्ष नेताहरु रहेकै फोरममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागिता जनाउँदै हुनुहुन्छ । नेपाल जस्तो सानो राष्ट्रले सबैसँग मित्रताको हात बढाउनुपर्ने हुँदा यो भ्रमण रणनीतिक महत्वको पनि छ । संघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन भदौ १४ गते चीन जान लाग्नुभएका प्रधानमन्त्री ओलीले साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा वर्तमान अमेरिकी रणनीति र ध्रुवीकृत विश्वका बारेमा के धारणा राख्नु हुन्छ यो निकै महत्वपूर्ण हुनेछ ।

पछिल्लो पटक प्रधानमन्त्री बनेपछि यो प्रधानमन्त्री ओलीको दोस्रो चीन भ्रमण हुने छ । यसअघि प्रधानमन्त्री ओली गत मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जानुभएको थियो । भदौ अन्तिम साता भारतको औपचारिक भ्रमण गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री ओली चीन जानु हुने भएको हो । चीनमा भदौ १६ गतेदेखि हुने एससीओको शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुनु हुने छ । सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ताको सम्भावना छ । त्यसका लागि परराष्ट्र मन्त्रालय तयारी थालेको छ । संघाई सहयोग संगठनको सम्मेलनमा रुससहित २० भन्दा धेरै देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने छन् । सम्मेलनमा राजनीति, अर्थतन्त्र, सुरक्षालगायतका विषयमा छलफल हुने छ । सम्मेलनका क्रममा नेपाल, भारत र चीनका राष्ट्र तथा सरकार प्रमुखबीच दुई पक्षीय भेटवार्ता हुने भएकाले त्रिदेशीय साझा समस्या समाधानको विषय प्राथमिकतामा हुनुपर्दछ ।

यो सम्मेलनमा यसअघि नेपालका राष्ट्रपतिले सहभागिता जनाउँदै आएको भए पनि यसपटक प्रधानमन्त्री ओली सहभागी हुन लाग्नुभएको हो । सम्मेलनमा छिमेकी देशका राष्ट्र तथा सरकार प्रमुखहरु एकसाथ भेटिने भएकाले क्षेत्रीय एजेण्डा तथा आपसी सहयोग बढाउनसहित विकासका एजेण्डा पनि उत्तिकै महत्वपुर्ण हुन्छ ।

शक्ति राष्ट्र रुस, चीन र भारतका शीर्ष नेताहरु सहभागी हुने फोरममा नेपालका लागि महत्वपूर्ण अवसर भएकाले पार्टीले पनि सोही बमोजिमको सुझाव रहने एमालेका विदेश विभाग प्रमुखसमेत रहेका पूर्वउपप्रधान तथा पराराष्ट्रमन्त्री रघुवीर महासेठको भनाइ छ ।

भारत भ्रमणको तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीको चीन भ्रमणले क्षेत्रिय मञ्चमा नेपालको उपस्थिति थप बलियो बनाउन सहयोग पुग्न सक्छ । चीन भ्रमणकै क्रममा भारतीय प्रधानमन्त्रीसँग पनि भेट हुन सक्ने भएकाले त्रिदेशीय एजेण्डामा पनि ठोस कुराकानी हुनसक्छ । अर्कोतर्फ चीन भ्रमणलगत्तै भारत जाने तयारीमा रहेका बेला प्रधानमन्त्री ओलीलाई एजेन्डा तय गर्नसमेत सहज बन्न सक्छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।