काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टीभ विट्कोफ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको छ ।
क्रेमलिनमा भएको तीन घण्टा लामो वार्ता रचनात्मक बैठक एक जना रूसी अधिकारीले जनाएका छन् । उनले अमेरिकी राष्ट्रपतिका दूत र पुटिनबीचको वार्तालाई अति उपयोगी समेत भनेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पुटिनका सहयोगी यूरी उशाकोभका अनुसार अमेरिकी दूत विट्कोफ र पुटिनबीच मस्कोमा तीन घण्टा रचनात्मक वार्ता भएको हो । उशाकोभले रूस र युक्रेनबीच सीधा वार्ता फेरि सुरू हुने सम्भावना चर्चाको मुख्य विन्दु रहेको समेत बताउनुभयो ।
रूस, अमेरिका र युक्रेन मात्रै नभई अन्य अन्तर्राष्ट्रिय मुद्दामाथि समेत निकटस्थता बढेको उहाँको दाबी छ । अमेरिकाले बैठकका दौरान भएको छलफलबारे कुनै विवरण जारी गरेको छैन । यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षबीच शान्ति सम्झौता गराउने काम पुनः चलेको बताउनुभएको छ ।
उता, युक्रेनी राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्किीले सहयोगीसँग रूसमाथि अधिक दबाब दिन आग्रह गर्नुभएको छ । उहाँले अमेरिकाद्वारा प्रस्तुत हालैको अस्थायी युद्धविराममा मस्को सहमत हुन असफल रहेको आरोप समेत लगाउनुभयो ।