काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा गुठीपीडित र प्रहरीबीच झडप भएको छ । ‘स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति’ले गरेको प्रदर्शनमा झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएको प्रहरीले जनाएको छ ।
उहाँलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहराका अनुसार प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।
प्रहरीले १२ जना गुठीपीडित प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । दाङको स्वर्गद्वारी गुठीका मोही किसान लालपुर्जा माग्दै गत माघ २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलमा अनिश्चितकालीन धर्नामा बसेका छन् ।