सर्वोच्चबाट फैसालाको पूर्णपाठ आएपछि आफैं अदालत हाजिर हुन्छु : दीपक मनाङे

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
सर्वोच्चबाट फैसालाको पूर्णपाठ आएपछि आफैं अदालत हाजिर हुन्छु : दीपक मनाङे

कास्की । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ अर्थात् दीपक मनाङेले सर्वोच्च अदालतबाट आफूविरुद्धको फैसलाको पूर्ण पाठ आएपछि स्वयम् अदालतमा उपस्थित हुने बताउनु भएको छ ।

सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेपछि मनाङे पक्राउको विषयमा चौतर्फी प्रश्न उठिरहेकै बेला मनाङेले आज विज्ञप्ति मार्फत सर्वोच्चबाट फैसलाको पूर्ण पाठ आएपछि सम्मानित अदालतमा हाजिर हुने जनाउनु भएको हो । 

मनाङेको विज्ञप्तिमा भनिएको छ, 'सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छ ।'

उहाँले आफूविरुद्ध सञ्चार माध्यमले भ्रामक र अनावश्यक समाचार बनाएको आरोप समेत लगाउनु भएको छ । सर्वोच्च अदालतले कात्तिक २० गते मनाङे विरुद्धको ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दाको फैसला सुनाउँदै मनाङेलाई दोषी ठहर गरेको थियो । सञ्चार माध्यमबाट अनावश्यक फोन आइरहेकाले आफूले प्रयोग गरेको मोबाइल बन्द गरेर बसेको मनाङेको विज्ञप्तिमा उल्लेख छ ।

२०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो । चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा मनाङेविरुद्ध सजाय सुनाइएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले कात्तिक २० गते पुनरावेदन अदालतको फैसलालाई सदर गर्दै मनाङेलाई दोषी ठहर गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.