भूकम्प प्रतिरोधी विद्यालय भवन बनाउँदै जुम्लाका स्थानीय तह

वैशाख २३, २०८१ |डीबी बुढा
भूकम्प प्रतिरोधी विद्यालय भवन बनाउँदै जुम्लाका स्थानीय तह

जुम्ला । जुम्लाका दुर्गम गाउँमा भूकम्प प्रतिरोधी विद्यालय भवन बनाउन थालिएको छ । पछिल्लो समय भूकम्पले तर्साइरहने र कच्ची भवन भत्किएर ठूलो क्षति हुनसक्ने सम्भावना बढेकाले भूकम्प प्रतिरोधी बनाउन थालिएको हो ।

सिंजा क्षेत्रमा रहेका तीन स्थानीय तहका पाँच विद्यालयका भवन भूकम्प प्रतिरोधी बनाइएको छ । हिमा, सिंजा र कनका सुन्दरीमा गरेर पाँचवटा विद्यालय भूकम्प प्रतिरोधी बनाइएको हो । नयाँ भवनलाई भूकम्पप्रतिरोधीसँगै बाल तथा अपांगमैत्रीसमेत बनाइएको पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले जानकारी दिनुभयो ।

विद्यालय भवन भूकम्पप्रतिरोधी बनेपछि स्थानीय बासिन्दा पनि खुसी छन् । आफ्ना बालबालिका विद्यालयमा सुरक्षित हुन्छन् भन्ने विश्वास उनीहरुमा जागेको छ । जीर्ण भवनमा कोचाकोच गरेर विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता पनि हटेको छ ।

शौचालय, हातधुने धारा, खानेपानी सुविधा र बगैंचा लगायतको व्यवस्थाले साना बालबालिका पनि रमाउँदै विद्यालय जाने गरेका छन् । अब जिल्लाका अन्य विद्यालय भवन पनि भूकम्पप्रतिरोधी बनाउने योजना रहेको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताउनुभयो ।

पछिल्लो समयमा कर्णालीका जिल्लाहरुमा बारम्बार भूकम्पको कम्पन महसुस हुन थालेको छ । भूकम्पका कारण धेरै विद्यालयमा क्षति पुगिसकेको छ भने थप क्षति हुने सम्भवना पनि बढेको छ । संरचना बलियो बनाए मात्रै सम्भावित क्षति रोक्न सकिन्छ ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।