सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलाई धरौटीमा छोड्न अदालतको आदेश

सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ भने पुर्पक्षका लागि थुनामा
वैशाख ७, २०८१ |भुवन पाण्डे
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलाई धरौटीमा छोड्न अदालतको आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालतले एक जनालाई थुनामा पठाउने र ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

आज थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिनुभएको हो । त्यस्तै ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिनुभयो ।

त्यस्तै दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, नवीन अछामीसँग १० लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरुङसँग २/२ लाख धरौटी माग गरिएको छ । सहकारी रकम हिनामिनामा संलग्नको आरोपमा ओखलढुंगा घर भएका गीतेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको थियो । २८ जनाविरुद्ध मुद्दा दर्ता भए पनि थुनछेक बहसमा ७ जना मात्र उपस्थित भएका थिए । कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाएर बयान लिइने पनि सूचना अधिकारी मरासिनीले बताउनुभयो ।

सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना सार्वजनिक भएपछि प्रहरीले पीडितबाट जाहेरी माग गरेको थियो। अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर एक हजार ८ सय ३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन् ।

प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ। तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement