क्यानडा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई विशेष ध्यान पुर्‍याउन दूतावासको आग्रह

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
क्यानडा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई विशेष ध्यान पुर्‍याउन दूतावासको आग्रह

काठमाडौं । क्यानडास्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै क्यानाडा सरकारले यसै वर्षको जनवरीदेखि लागु हुने गरी अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या २ वर्षका लागि ३५ प्रतिशतले घटाउने नीति अपनाएकाले क्यानडामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई विशेष ध्यान पुर्‍याउन आग्रह गरेको छ । 

दूतावासले क्यानडा सरकारले निजी-सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका स्नातक र सोभन्दा मुनिका तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सेप्टेम्बर महिनादेखि 'वर्क परमिट' अर्थात श्रम स्वीकृति जारी नगर्ने नीति लिएको जानकारी समेत गराएको छ । 

यसैगरी दूतावासले क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीले आफूले पढ्न चाहेको कलेज वा विश्वविद्यालयको भूगोल, हावापानी र रहन-सहन बुझ्नुका साथै त्यहाँ सजिलै रोजगारी पाइहालिन्छ भन्ने भ्रममा नपर्न सजग गराएको छ । दूतावासले अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई अध्ययन अविधभरका लागि लाग्ने शैक्षिक शुल्क र बस्ने-खाने खर्चको व्यवस्था गरेर मात्र क्यानाडा पठाउन समेत आग्रह गरेको छ ।

क्यानाडा पढ्न आउने विद्यार्थीले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्न जाने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्न दूतावासले अभिभावकहरुलाई सचेत गराएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.