जात्रामय उपत्यका !

वैशाख १, २०८१ |नारायण किलम्बू
जात्रामय उपत्यका !

काठमाडौं । नेपालीले नयाँ वर्ष २०८१ सालको हर्षोल्लासका साथ स्वागत गरेका छन् । नयाँ वर्ष सुरु भएको दिनलाई पर्वकै रुपमा मनाउने चलन छ । परम्पराअनुसार कुनै समुदायले जात्रा, महोत्सव गरी नयाँ वर्षको स्वागत गरेका छन् त कसैले शुभकामना आदानप्रदान गरे ।

काठमाडौं उपत्यकाका रैथाने नेवार समुदायले परम्परागत जात्रा गरी आपसी एकता सद्भाव र नयाँ उमंगका साथ नयाँ वर्ष मनाएका छन् । भक्तपुरको बिस्का, काठमाडौंको दुमाजूलगायत सांस्कृतिक जात्रा मुख्य आकर्षणका रुपमा रहे ।

नयाँ वर्षको दिन काठमाडौं उपत्यका परम्परागत जात्रा पर्वले उल्लासमय बन्यो । भक्तपुर र मध्यपुरको बिस्केट, काठमाडौंको दुमाजु, ललितपुरको थसीमा महालक्ष्मीलगायत जात्रा तथा सांस्कृतिक उत्सवले उपत्यका रंगीन बन्यो । नेवार समुदायले जात्राका क्रममा देवीदेवताको पूजाआराधना र भक्तिभावका साथ आपसी भाइचारा कायम गरी आफन्तजन जमघट गरी शुभकामना आदानप्रदान गरे ।

उपत्यकाका रैथाने नेवार समुदायले नयाँ वर्षका बेला धार्मिक र सांस्कृतिक जात्रा, पर्वसँगै सामाजिक सद्भाव कायम राख्न शुभकामना आदानप्रदान गर्ने गरेको पाइन्छ । नयाँ वर्षका दिन परिवार, आफन्त, साथीभाइ बोलाएर भोज जाने र रमाइलो गर्ने चलन छ । उपत्यकाभित्रका जात्रा पर्वले पर्यटकलाईसमेत लोभ्याउने गरेको भक्तपुरका गोपालप्रसाद सिग्देल बताउँछन् ।

जात्रामा बजाउने परम्परागत बाजाले त झन सिंगो सहर नै गुज्जयमान बन्यो । बाजाको तालले नयाँ जोस-जाँगर, उत्साह र उमंग दिने विश्वास गरिन्छ । सदियौंदेखि चलेका यस्ता परम्परागत जात्रा पर्वले सांस्कृतिक पहिचान र नयाँ वर्षले पर्यटकीय आकर्षणसमेत बढाएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।