भक्तपुरका १,१४४ रोपनी स्वीकृतिबिनै प्लटिङ, गरिँदैन मापदण्ड पालना

चैत्र ९, २०८० |सुन्दर शिल्पकार
भक्तपुरका १,१४४ रोपनी स्वीकृतिबिनै प्लटिङ, गरिँदैन मापदण्ड पालना

भक्तपुर । पछिल्लो समय देशका प्राय: सबै जिल्लाबाट उपत्यका आउनेहरुले यहीँ घर घडेरी जोड्ने क्रम बढेको छ । यही देखेर जग्गा व्यवसायीले काठमाडौं, ललितपुर र भक्तपुरका धेरै स्थानमा जग्गा खण्डीकरण गर्दै आएका छन् ।

सानातिना थुम्को फोड्ने, खाल्डो पुर्ने र भिरालो भागमै पनि जग्गा खण्डीकरण गर्ने कामलाई जग्गा व्यवसायीले तीव्रता दिएका छन् । कतिसम्म भने भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मात्रै एक हजार १४४ रोपनी विनास्वीकृति प्लटिङ भइरहेको छ ।

डाँडाकाँडामा समेत डोजर प्रयोग गरेर जग्गा सम्याइरहेको दृश्य भक्तपुरमा जताततै देख्न पाइन्छ । यसरी जग्गा खण्डीकरण गर्दा उपत्यका विकास प्राधिकरणबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्छ । तर पालिकाबाट माटो सम्याउने नाममा स्वीकृति लिएर जग्गा खण्डीकरण बढेको प्राधिकरणको दाबी छ । प्राधिकरणका अनुसार चाँगुनारायण नगरपालिकाभित्र ८०, सूर्यविनायकमा ११ र मध्यपुरमा एक गरी ९२ स्थानमा विनास्वीकृति जग्गा खण्डीकरण भइरहेको छ । यसका लागि स्वीकृति त लिइएको छैन नै, सामान्य मापदण्ड पनि पालना गरिएको छैन ।

जग्गा व्यवसायीहरुले प्राधिकरणको सट्टा पालिकाबाट अनुमति लिने गरेका छन् । तर, चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले भने आफूहरुले प्लटिङका लागि नभई सम्याउन मात्रै अनुमति दिने गरेको दाबी गरे ।

यसरी घडेरीका रुपमा तयार गरिएका जग्गाको मूल्य बढी पर्छ । बढी मूल्य पार्ने नाममा व्यवसायीहरुले नजिकको जंगल तथा सार्वजनिक जग्गालाई समेत निजी जग्गामा मिसाउने गरेको गुन्डु भक्तपुरका रामजी अवाल बताउँछन् ।

प्लटिङका नाममा सार्वजनिक जग्गा हडपिँदासमेत नियमनकारी निकाय सक्रिय देखिएका छैनन् । स्थलगत निरीक्षण गरी कारबाहीको दायरामा ल्याउनुको सट्टा पालिकालाई पत्राचार गरेको भनेर पन्छिने गरेका छन् ।

जग्गा प्लटिङ गर्ने र घर बनाउने क्रम बढ्दा भक्तपुरको उर्बर भूमिमा कंक्रिटले भरिसकेको छ । यो क्रम नरोकिने हो भने ऐतिहासिक सहर भक्तपुरको मौलिकतासमेत हराउने जोखिम बढेको छ । 


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।