मोरङको बेलबारीमा तीनवटा सवारीसाधन ठोकिएर दुर्घटना; २ जनाको मृत्यु, ३ घाइते

फाल्गुन १८, २०८० |सुशीला पाठक
मोरङको बेलबारीमा तीनवटा सवारीसाधन ठोकिएर दुर्घटना; २ जनाको मृत्यु, ३ घाइते

विराटनगर । मोरङको बेलबारी नगरपालिका-१ र ३ को सिमानामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

 पूर्व-पश्चिम लोकमार्गमा टिपर, बस र बोलेरो जिप ठोक्किँदा बिहान साढे ६ बजेतिर ठूलो दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोलेरोमा ५ जना सवार थिए । मृतक र घाइते बोलेरोमा सवार थिए ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो । बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले बसको पछिपछि लागेर पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेर बोलेरोमा सवार झापाको कमल गाउँपालिका-२ का ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको छ । दुवै जनालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ ।

साथमा बोकेको मतदाता परिचयपत्रका आधारमा भट्टराईको पहिचान खुलेको हो । मृतक महिलाको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा परेर बोलेरो सवार ३ जना घाइते भएका छन् ।

घाइते भएका झापाको कमल गाउँपालिका-२ का ५५ वर्षीय हरि खनाल, ५० वर्षीया गायत्री भट्टराई र पहिचान नखुलेका अन्दाजी ४० वर्षीया पुरुषको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । पहिचान नखुलेका पुरुष बोलेरो चालक हुनसक्ने अनुमान गरिएको छ । घाइतेमध्ये ती पुरुष र हरि खनालको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । गायत्रीको अवस्था सामान्य छ ।

घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर पठाएको थियो । घाइतेमध्ये २ जनाको मृत्यु भइसकेको हो । उपचाररत ३ जनामध्ये २ जनाको अवस्था चिन्ताजनक छ ।

दुर्घटनामा परेर बोलेरो जिप पूर्णरूपले क्षतिग्रस्त बनेको छ भने टिपरको अगाडिको भागमा पूर्णरूपले क्षति पुगेको जानकारी प्रहरीले दिएको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति पुगेको छ । बसमा सवार सबै जना र टिपर चालक सकुशल रहेको प्रहरीको भनाइ छ । दुर्घटना स्थलमै रहेका सवारीसाधनलाई प्रहरीले जेसीबीको सहायता लिएर सडकबाट हटाउने प्रयास गरिरहेको छ ।

प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैँचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई दुर्घटनालगत्तै नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको हो ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।