भारतसँग सीमा जोडिएका मधेसका जिल्लाहरुमा मौलायो आपराधिक घटना

वैशाख २७, २०८१ |अनिल मिश्र
भारतसँग सीमा जोडिएका मधेसका जिल्लाहरुमा मौलायो आपराधिक घटना

जनकपुर । भारतसँग सीमा जोडिएका मधेस प्रदेशका जिल्लाहरुमा आपराधिक घटना बढेका छन् । विशेष गरी हत्या र जबरजस्ती करणीका घटनामा वृद्धि भएको हो । पछिल्लो ३ वर्ष ८ महिनामा मधेस प्रदेशका आठ जिल्लामा ३ सय ९७ जनाको हत्या भएको छ भने ११ सय ८३ जनामाथि जबरजस्ती करणी भएको छ । शृङ्खलाबद्ध रूपमा हत्या र जबरजस्ती करणीका घटना भए पनि नियन्त्रण र अनुसन्धान प्रभावकारी हुन सकेको छैन ।

गत कात्तिक १० गते धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ७ नेमुवाटोलकी ५० वर्षीया रेखादेवी ठाकुरको हत्या भयो । रेखादेवीको शव खाल्डोमा पुरी फरार पति सुदीप ठाकुर र जेठाजु उदित ठाकुरलाई ७ महिनापछि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

पछिल्ला तीन वर्ष ८ महिनामा मधेश प्रदेशका आठ जिल्लामा ३ सय ९७ कर्तव्य ज्यानका घटना भएको प्रदेश प्रहरीको तथ्यांक छ । आर्थिक वर्ष २०७७/७८ मा एक सय १, २०७८/७९ मा १ सय ४, २०७९/८० मा १ सय ८ र चालू आर्थिक वर्षको फागुनभित्र ८४ जनाको हत्या भएको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ सय ८३ जनालाई पक्राउ गरेको छ । सम्पत्ति र लेनदेनको विवाद, अनैतिक यौन सम्बन्ध, घरेलु हिंसा, गरिबीलगायतका कारण मधेशमा अपराधका घटना बढेको देखिएको छ ।

मधेश प्रदेशमा ३ वर्ष ८ महिनामा ११ सय ८३ वटा जबरजस्ती करणीका घटना भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा ३ सय ७३, २०७८/७९ मा २ सय ८७, २०७९/८० मा ३ सय ३१ र चालु आर्थिक वर्षको फागुनसम्म २ सय २ वटा जबरजस्ती करणीका घटना प्रहरीमा दर्ता छन् । तर ८ सय २३ जना आरोपी मात्र पक्राउ गरी प्रहरीले मुद्दा दर्ता गरेको छ । जबरजस्ती करणीका घटना किन बढिरहेका छन् त ?

प्रहरीको अनुसन्धान फितलो हुँदा हत्या र जबरजस्ती करणीका घटनामा संलग्न सबै पक्राउ पर्न सकेका छैनन् । खुला सीमानाको फाइदा उठाउँदै भारतबाट हतियारसहित नेपाल प्रवेश गर्ने र अपराध गरेर उतै भाग्ने प्रवृत्तिका कारण अपराध नियन्त्रणमा प्रहरीलाई चुनौती देखिएको छ ।  


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।