बारम्बार रोकिएको खेलाडीको पुरस्कार राशि निकासा गर्ने मन्त्रिपरिषद्को निर्णय

विश्वकपमा छनोट क्रिकेट टिमले २ करोड पाउने
एसियाडमा रजत जित्ने एरिकालाई १९ लाख
वैशाख २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
बारम्बार रोकिएको खेलाडीको पुरस्कार राशि निकासा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले खेलाडीलाई दिने घोषणा गरेको नगद पुरस्कारको रकम निकासा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले दुई करोड ९७ लाख १० हजार रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै १९ औं एसियाली खेलकुदमा पदक विजेता खेलाडी र आईसीसी मेन्स टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा उपविजेता बनेको नेपाली टोलीले पुरस्कार पाउने भएका छन् ।

चीनको हाङचोउमा गत अजोसमा भएको १९ औं एसियाडमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन् । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्यले १ लाख ९५ हजार पाउनेछन् ।

एसियाडमा कास्य जितेको नेपाली राष्ट्रिय महिला कबड्डी टिमले कुल ४८ लाख १० हजार प्राप्त गर्नेछ । जसमा १२ खेलाडीले जनही ३ लाख ९० हजार पाउनेछन् । यस्तै प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार नगद पुरस्कार पाउनेछन् ।

चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दोकी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामालाई २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई १ लाख ३० हजार प्रदान गरिनेछ । आईसीसी विश्वकप एसिया छनोटमा उपविजेता बनेको क्रिकेट टिमको कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार निकासा भएको छ ।

१५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देसाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार नगद हात पार्नेछन् । नेपाली टिम अहिले विश्वकपका लागि अमेरिकामा छ ।

घोषणा गरेको लामो समयसम्म पनि पुरस्कार नपाउँदा निराश भएका खेलाडीले रकम निकासाका लागि खेलकुद मन्त्रालयलाई बारम्बार आग्रह गर्दै आएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.