लुम्बिनी प्रादेशिक अस्पतालमा बाल सघन उपचार कक्ष सञ्चालन

माघ २६, २०८० |अमृता अनमोल
लुम्बिनी प्रादेशिक अस्पतालमा बाल सघन उपचार कक्ष सञ्चालन

रुपन्देही । जटिल खालका बिरामी बालबालिकालाई सहज उपचारका लागि बुटवलमा बाल सघन उपचार कक्ष सुरु भएको छ । २८ दिनदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ६ शैयाको बाल सघन उपचार कक्ष पीएसआईसीयू सुरु भएको हो । 

त्यसमा विभिन्न संक्रमण भएका, कम तौल भएका, श्वाशप्रश्वासमा समस्या भएका नबालबालिकाको निःशुल्क उपचार हुन्छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका बालरोग विशेषज्ञ डा. नेत्र रानाले ठूला बिरामीलाई राख्ने आईसीयूमै बालबालिकालाई पनि राख्नुपर्ने र अन्यत्र रिफर गर्नुपर्ने वाध्यता अब नरहेको बताए ।

दैनिक करिब ३ सय बालबालिका उपचारका लागि आउने लुम्बिनी प्रादेशिक अस्पतालमा यसअघि नवजात शिशु अर्थात् जन्मेदेखि २८ दिनसम्मको शिशुको सघन उपचारका लागि १२ शैयाको एनआईसीयू र १२ शैयाकै एचएनसीयू भए पनि त्यसमाथिका बालबालिकाको सघन उपचार कक्ष थिएन । जसले गर्दा जटिल खालका बिरामी बालबालिकालाई बचाउन समस्या थियो ।

नेपालमा ५ वर्षमुनिका १ हजार शिशुमध्ये ३३ जनाको मृत्यु हुने तथ्यांक छ । तर, लुम्बिनी प्रदेशमा भने १ हजार शिशुमध्ये ४० जना शिशुले ज्यान गुमाउँछन् । आमामा भएको कुपोषण र रक्तअल्पताका कारण अस्वस्थ शिशु जन्मनु यसको मुख्य कारण हो । 

जटिल खालका बिरामी बालबालिकाको सघन उपचार गर्न नसक्नुले पनि बालमृत्यु बढाइरहेको छ । बाल मृत्युदर घटाउन लुम्बिनी प्रदेश सरकारले यस वर्षदेखि उपचारात्मक र प्रवद्धनात्मक कार्यक्रम थालेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले जानकारी दिए ।

उपचार सेवा सस्तो, सहज र सरल नहुँदा जटिल खालका बिरामी नवजात शिशु र बालबालिकाको अकालमै मृत्यु हुन्छ । सरकारी अस्पतालहरुमा निःशुल्क सघन उपचार कक्षको बिस्तार गर्दै जाने हो भने जटिल खालका बिरामी बालबालिकालाई बचाउन, उपचारमा पर्ने आर्थिक बोझ घटाउन र देशकै बालमृत्युदर घटाउन सहज हुनेछ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।