तातोपानी नाका पुरानै लयमा फर्किने तरखरमा

माघ २५, २०८० |कमला पाख्रिन
तातोपानी नाका पुरानै लयमा फर्किने तरखरमा

सिन्धुपाल्चोक । केरुङ नाकाबाट सामान आयात गर्दै आएका व्यवसायीले पछिल्लो समय तातोपानी नाकाबाट पनि सामान आयात गर्न थालेपछि स्थानीय व्यापार व्यवसाय बढेको छ । ढिलै भए पनि आयात निर्यात सहज भएसँगै तातोपानी नाकाका पुराना व्यापारी र व्यवसायी उत्साहित भएका छन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष सूर्यबहादुर कार्की भन्छन्, 'रसुवाको केरुङ नाकाबाटभन्दा तातोपानी नाकाबाट सामान छिटै आइपुग्ने भएकाले नाकाप्रतिको आकर्षण बढेको छ ।'

केरुङ नाकामा सामान ल्याउन धेरै समय कुर्नु पर्ने र सडकको अवस्था राम्रो नभएकाले व्यापारीले केरुङ छाडेर तातोपानी नाकाबाट सामान ल्याउन थालेका हुन् ।

तातोपानी भन्सार कार्यालय लार्चाका प्रमुख दयानन्द केसीले फाट्टफुट्ट सामान आउने गरेको तातोपानीस्थित सुख्खा बन्दरगाहमा तीन दिन यता दैनिक २० देखि २५ वटासम्म गाडीमा सामान आएको बताए । उनले भने, 'आर्थिक वर्ष ०८०/८१ मा राजस्व असुलीको अवस्था उत्साहजनक नै छ ।' तातोपानी नाकाबाट ६८ प्रतिशत राजस्व असुल भएको छ । केसीका अनुसार व्यवसायीको गतिविधिमा आएको फेरबदलले नाका पुरानै अवस्थामा फर्किने आशा गर्न सकिन्छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।