दार्चुलामा बस दुर्घटना, १४ जना घाइते

माघ ५, २०८० |मनोज बडू
दार्चुलामा बस दुर्घटना, १४ जना घाइते

दार्चुला । दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको दिवा बस दुर्घटनामा परेको छ ।

आज (शुक्रबार) बिहानै महाकाली नगरपालिका ५, किम्तडीस्थित फोहोर संकलन केन्द्रनजिकै दुर्घटना हुदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खलंगाबाट बिहान साढे ५ बजे महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको सुप-प्र-००१ ख १०३१ नम्बरको बस दुर्घटनामा परेको हो । चालकसहित बसमा सवार १४ यात्रु घाइते भएको र घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।