शीतलहरले पश्चिम तराईको जनजीवन कष्टकर, एक साता विद्यालय बन्द

पुस २९, २०८० |कमल पन्थी
शीतलहरले पश्चिम तराईको जनजीवन कष्टकर, एक साता विद्यालय बन्द

बर्दिया । बर्दियालगायत पश्चिम तराईमा एक सातादेखि शीतलहर चलिरहेको छ । शीतलहरसँगै बाक्लो हुस्सु लाग्न थालेपछि चिसो अत्यधिक बढ्दा जनजीवन प्रभावित भएको छ । चिसोले वृद्धवृद्धा र बालबालिका सबैभन्दा बढी प्रभावित छन् भने निमोनिया र श्वासप्रश्वासको समस्या पनि बढेको छ । एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

सीमसीमे पानीजस्तो शीत परेसंगै चिसो हावा चलेको छ । ठाउँ ठाउँमा चिसोबाट बच्न पश्चिम तराईका स्थानीयले आगो बालेर तापेका छन् । विगतमा पालिकाले चिसोबाट जोगिन ठाउँ ठाउँमा दाउरा उपलब्ध गराएपनि यस वर्ष स्थानीय आफैँले दाउराको जोहो गरेका छन् । पालिकाले गरिब बस्तीहरुमा चिसोबाट बच्न दाउरालगायत न्यानो कपडाको व्यवस्था गरिदिनु पर्ने स्थानीय अब्बास अली धोबी बताउँछन् ।

अत्याधिक चिसोले निमोनिया, दम, रुघाखोकी लगायतका विरामीको संख्या बढेको जिल्ला अस्पताल गुलरियाले जनाएको छ । विशेष गरि शिशु, वालवालिका र जेष्ठ नागरिक बढी प्रभावित छन् । चिसोबाट जोगिन विहिवारबाट विद्यालय एक साताका लागि बन्द गरिएको छ । ट्राफिक प्रहरीले दुर्घटनाबाट जोगिन सचेतना कार्यक्रम गरिरहेको छ । चिसोबाट नागरिकलाई जोगाउन आवश्यक तयारीमा लागेको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रोप्रसाद खरेलले भने, ‘चिसो तथा सम्भावित शितलहरबाट बच्नका लागि सबै पालिकाहरूमा र जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट तयारीहरू भइरहेको छ । स्वास्थ्य सतर्कता अपनाउन र काम परेको समयमा बाहेक बाहिर ननिस्कन पनि आह्वान गरेका छौं ।’

यस वर्ष जाडोयाम शुरु भएयता आगो ताप्दा बर्दियामा मात्र ६ जनाको ज्यान गएको छ । जाडोयाममा चिसोबाट जोगिन पालिका लगायत स्थानीय प्रशासनले बेलैमा आवश्यक तयारी गर्न जरुरी छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।