शिलान्यास भएको १३ वर्षमा पनि पुल बनेन, स्थानीयलाई डुंगाकै भर

पुस २८, २०८० |राजेश्वर पाण्डे
शिलान्यास भएको १३ वर्षमा पनि पुल बनेन, स्थानीयलाई डुंगाकै भर

रौतहट । रौतहटको हुलाकी राजमार्गअन्तर्गत बागमती नदीमा पक्की पुल बनाउन २०६७ साल जेठमा शिलान्यास भयो । तर १३ वर्ष बितिसक्दा पनि पुल अझै अधुरै छ । पुल बन्यो भने आवागमन सहज मात्रै नभई आफ्नो क्षेत्रको विकासमा पनि टेवा पुग्ला भन्ने आशा राखेका स्थानीय निराश भएका छन् ।

रौतहटको हुलाकी राजमार्गको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वा घाटमा बागमती नदीमाथि पक्की पुल बनाउन २०६७ जेष्ठ ३१ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले तामझामकासाथ शिलान्यास गरे । तीनवर्षमा सम्पन्न गर्ने गरी लुम्बिनी विल्डर्सले ६३३ मिटर चौडाइ भएको पुलको ठेक्का ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा सकार गरी सम्पूर्ण कामको जिम्मा पप्पु कन्ट्रक्सनले लिएको थियो। तर पप्पु कन्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारलाई पटक-पटक ताकेता गर्दासमेत अटेरी गरेपछि निजलाई कालो सूचीमा राखेर टेण्डर प्रक्रिया रद्द गरियो ।

प्राविधिक डिजाइनमा परिवर्तन गरी वृहतरुपमा डीपीआर गरेर महालक्ष्मी विकास वाइपी जेभीले ५७ करोड ४० लाख ७७ हजार ५०१ रुपैयाँमा सकार गरेको टेन्डर दुई वर्ष बिति सक्दा पनि काम सुरु नहुँदा स्थानीय बासिन्दाले बाटो अवरुद्ध गरी धर्नासमेत बसे । मधेश प्रदेशसभा सदस्य नगेन्द्र साहले भने, ‘डिजाइन र ड्रविङ कन्फर्मेसन नदिएर कन्ट्रयाक्टरले काम नगरेको हो । निर्माण व्यवसायीले कार्यालयबाट डिजाइन र ड्रविङ नपाएकाले काम नगरेको हो ।’

दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले सम्बन्धित कार्यालयबाट पुल निर्माणको डिजाइन र ड्रविङ (नक्सा) नपाएकाले ठेकेदारले काम अगाडि बढाउन नसकेको बताएको उल्लेख गरे । ‘प्रधानमन्त्रीले नै शिलान्यास गरिसकेपछि त्यो काम समयमै सकिन्छ भन्ने हामी आशावादी थियौँ । तर पटकपटक यहाँ कार्यालयको कमीकमजोरी देखिरहेका छौं,’ उनले भने, ‘हामीले सम्बन्धित कार्यालयमा पनि ताकेता पटकपटक गरेका छौं । ठेकेदारलाई पनि ताकेता गरेका छौं । तीनपटक सीडीयो कार्यालयमा हामीबीच सम्झौता पनि भएको छ। त्यो ड्रविङको विषय लिएर काम अड्काइएको छ । ठेकेदारले कार्यालयबाट ड्रविङ आउनु पर्‍यो भन्ने अडान राखेको छ ।’

पुलनिर्माण अलपत्र भएपछि काठको डुंगाबाट जोखिमपूर्ण तरिकाले नदी वारपार गर्ने बाध्यता स्थानीयलाई हटेको छैन । घाँसदाउरा लिन वा आफ्नै घरसम्म डुंगामात्रै एक विकल्प छ । स्थानीय अवधबिहारी सिंहले भने, ‘बाढी आएको समयमा आवतजावत बन्द हुन्छ । बिमारी भएको मान्छे अलपत्रमा पर्छ। त्यसको अकालमा मृत्यु हुन्छ । पुल नहुँदा यही समस्या छ ।’

रौतहट र सर्लाही जोड्ने हुलाकी राजमार्गमा पर्ने पुल १३ वर्षसम्म पनि नबन्नुले हाम्रो राज्य संयन्त्रलाई गिज्याइरहेको छ । 


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।