गरिब विपन्नका लागि सहारा बन्दै सहकारी

ऋण लिएर उद्यम गर्नेहरुको जीवनमा आर्थिक प्रगति
पुस २३, २०८० |बालकृष्ण अधिकारी
गरिब विपन्नका लागि सहारा बन्दै सहकारी

हेटौँडा । रातारात धनी बन्ने केही व्यक्तिका स्वार्थका कारण सहकारी बदनाम बनिरहेको छ । विपन्न, ग्रामीण र पिछडिएका क्षेत्रको आर्थिक, सामाजिक विकासका लागि सहकारी सशक्त र प्रभावकारी माध्यम हो । त्यसो त सहकारीले घरेलु उद्योग, पशुपालन, कृषि उत्पादन, जलविद्युत, पर्यटन, जडिवुटी उद्योग जस्ता क्षेत्रमा राम्रा र प्रभावकारी काम गरिरहेका छन् । धेरै सहकारी संस्था गरिब विपन्न वर्गका मानिसको सहारा बनेका छन् । सहकारीबाट ऋण लिएर उद्यम गरेका धेरै मानिसले आफ्नो जीवननै परिवर्तन गरेका उदाहरण पनि छन् ।

हेटौंडा उपमहानगरपालिका वडनम्बर-१३ सिमपानीकी सावित्री स्याङतान महिला मिलन बचत तथा ऋण सहकारी संस्थाकी शेयर सदस्यहुन् । उनले २०७४ सालमा सहकारीबाट ५ लाख रुपैयाँ ऋण लिएर बाख्रापालन सुरु गरिन् । व्यवसायिक रुपमा बाख्रापाल नगरी भएको आम्दानीले सहकारीको ऋण तिरेर अहिले उनले घरमै मिल समेत सञ्चालन गरेकी छिन् । सहकारीको सहयोगबाट स्याङ्तान उद्यमी महिला बन्न सफल छिन् । उनलाई बाख्रापालन गर्न र मेल सञ्चालनगर्न परिवारको समेत दरिलो साथ छ । उनले यो व्यवसायबाट ६ वर्षमा २० लाख रुपैयाँ आम्दानी लिएकी छन् ।

उनले भनिन्, ‘बाख्रापालन सम्बन्धी तालिम लिएँ । साथै त्यही संस्थाले ऋण पनि दियो । मैले ऋण निकाले ऋण निकालेपछि बाख्रा खोर बनाएँ । बिस्तारै बाख्रा पनि बढाउँदै लगेँ । अहिले किस्ता तिर्नुपर्दा पनि बाख्रा बेच्छु ।’

यस्तै मकवानपुरगढी गाउँपालिका वडा नम्बर-५ का प्रकाश तिमल्सिनाले सवारी दुर्घटनामा आफ्नो एउटा हात गुमाए । शारीरिक रुपमा कमजोर उनलाई व्यवसाय सञ्चालनका लागि घर र समाजले नै पत्याउने अवस्था थिएन । तर २ वर्षअघि गाउँकै महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख रुपैयाँ ऋण लिएर उनले १० वटा गाई पालन सुरु गरे ।

दैनिक ६० लिटर दुध उत्पादन गरिरहेका तिमल्सिनाले अहिले छरछिमेकीले उत्पादन गरेको दुधसमेत संकलन गरी डेरी पसल सञ्चालन गरेका छन् । उनको डेरी पसलबाट दैनिक डेढ सय लिटर दूध बिक्री भइरहेको छ । यो व्यवसायबाट खर्च कटाएर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी भएको उनी बताउँछन् ।

‘सुरुवाती चरणमा मैले गाउँकै सहकारीबाट ५ लाख जति ऋण निकालेर त्यसमा आफ्नो अलिकति लगानी थपथाप गरेर गाईपालन सुरुवात गरेँ,’ उनले भने, ‘यो व्यवसायबाट आजको दिनसम्म मलाई राम्रै भइरहेको छ।’

सहकारी संस्थामा नियमित बचत गर्ने र आवश्यकता परेको बेला संस्थाबाटै सहज ऋण पाइने भएकाले यो समुदायका लागि आर्थिक कारोबार गर्ने भरपर्दो माध्यम हो । तर सहकारी संस्था नीति नियमभित्र रहेर सञ्चालन भइरहेका छन् कि छैनन् भन्ने कुरामा सहकारीका सेयर सदस्यहरु चनाखो रहनुपर्छ । मकवानपुरमा मात्रै कृषि, बचत, उपभोक्ता र बहुउद्देश्यीय गरी पाँच सयवटा सहकारी संस्था छन् । यी सहकारी संस्थाले २ अर्बको आर्थिक कारोबार गरिरहेका छन् । अधिकांश सहकारी संस्था नीति नियमभित्रै रहेर सञ्चालन भइरहेका छन् ।

जिल्ला बचत तथा ऋण सहकारी संघ, मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठले भनिन्, ‘मकवानपुर जिल्लामा अनुशासित सहकारी संस्थाहरू स्थापित छन् । र सर्वसाधारण मान्छेहरु जो चाहिँ आफू एक्लैले केही गर्न सक्दैनन् । तिनीहरुलाई सामूहिकतामा काम गर्नका लागि सहकारी एकदमै राम्रो रुपमा अगाडि आइरहेको छ।’

सेवा क्षेत्रका आधारमा स्थानीय पालिका वा प्रदेशको सहकारी महाशाखाले सहकारी संस्थाको अनुगमन गर्ने गर्दछन् ।

अनुगमन गर्ने निकाय र सहकारीका सेयर सदस्यहरुले सञ्चालक समिति र विभिन्न उपसमितिहरुको काम कारबाहीलाई निगरानी राख्ने हो भने सहकारी संस्थाहरु गरिबी निवारण गर्ने भरपर्दो माध्यम बन्न सक्छन् ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।