‘भोगचलन गर्ने जमिन भारतीयले हडप्यो, फिर्ता ल्याउन कतैबाट पहल भएन’

मंसिर २६, २०८० |कमल पन्थी
‘भोगचलन गर्ने जमिन भारतीयले हडप्यो, फिर्ता ल्याउन कतैबाट पहल भएन’

बर्दिया । सुरक्षा निकायकै संरक्षणमा भारतीयहरुले बर्दियाको गुलरिया नगरपालिका थपुवा गाउँका पाँच जनालाई आफ्नै जमिनको हकभोग गर्न दिएका छैनन् । आफूहरुको ६ बिघाभन्दा बढी जमिन भारतीय नागरिकको नियन्त्रणमा पुगेको १५ वर्ष बितिसकेको गुनासो जग्गाधनीले गरिरहँदा उनीहरुको हकभोग फिर्ता दिलाउन नेपाली पक्षले कुनै पहल गरेको छैन ।

बर्दियाको गुलरिया नगरपालिका-१० का जागेश्वर थारुको २ बिघा ७ कट्ठा जग्गा भारतीयले कब्जा गरेको १५ वर्ष बितिसक्यो । जोतभोग गर्न नपाएको जग्गाको मालपोत उनले अहिलेसम्मै बुझाइरहेका छन् । जग्गाधनी पूर्जा देखाउँदै भारतीय सुरक्षाकर्मीको आडमा त्यहाँका मानिसले आफ्नो जग्गा कब्जा गरेको पीडा उनी सुनाउँछन् । जागेश्वरजस्तै थपुवा गाउँका ५ जना किसानको जग्गा भारतीयले जोतभोग गर्न नदिई कब्जा गरेका छन् ।

जागेश्वरले कान्तिपुर टेलिभिजनलाई भने, ‘मेरो कित्ता नम्बर ५३६ को ९ कठ्ठा जग्गा १०-१५ वर्ष भइसक्यो भारतीय कब्जा गरेको छ । त्यसपछि पनि हामीले मालपोत पनि बुझाउँदै आइरहेका छौँ । त्यसको बदलामा जग्गा सट्टाभर्ना पनि भएको छैन ।’

नेपाली किसानको जग्गा भारतीय सीमा सुरक्षा बल एसएसबीको सहयोगमा भारतीयहरुले नियन्त्रण गर्दासमेत स्थानीय प्रशासनले चासो दिएको छैन ।

सरकारले चासो नदिएपछि पीडित किसानले २०७२ मंसिर २७ गते गृहमन्त्रालयमा लिखित उजुरी दिए । तर गृह मन्त्रालयले पनि अहिलेसम्म समस्याको समाधान खोजेको छैन ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले यस विषयमा के भएको हो थप बुझेर आवश्यक पहल गर्ने भन्दै झारा टार्ने खालको जवाफ दिए ।

सडक र सदनमा सीमा अतिक्रमणको विरोध हुँदै आएको छ । तर व्यवहारमा नेपाली किसानको जग्गा भारतीय पक्षले नियन्त्रणमा लिँदासमेत कसैले आफ्ना कुरा नसुनेकेा पीडितको गुनासो छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।