नियन्त्रणमा लिइएका नरभक्षी बाघको हेरचाहमा चुनौती

मंसिर २०, २०८० |राजु चौधरी
 नियन्त्रणमा लिइएका नरभक्षी बाघको हेरचाहमा चुनौती

चितवन । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेको छ । त्यही कारणले पनि अहिले बस्ती आसपासमा धेरै बाघ देखिन थालेका छन् । बस्ती र आसपास क्षेत्रमा निस्किएर बाघले मान्छे नै मार्न थालेपछि बाघलाई नियन्त्रणमा लिने गरिएको छ । नरभक्षी बाघलाई नियन्त्रणमा लिँदै जाँदा अहिले अधिकांश खोर भरिएका छन् ।

आर्थिक वर्ष ०७८/७९ मा चितवन निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा १४ जना र नवलपरासीको राष्ट्रिय वन क्षेत्रमा दुई जना गरी बाघको आक्रमणमा परेर एकै वर्षमा १६ जनाको ज्यान गएको थियो । गतवर्ष एक जनाको ज्यान गयो भने चालु आर्थिक वर्ष मात्रै ४ जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । त्यसले गर्दा निकुञ्जलाई नरभक्षी बाघलाई नियन्त्रणमा लिन दबाब आउने गरेको छ । त्यसरी नियन्त्रणमा लिइएको मध्य चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा ४ र सौराहा सेक्टरमा २ वटा बाघ रहेका छन् । केहीदिन अघि मकवानपुरमा दुई जनाको ज्यान लिएको बाघलाई सौराहामा राखिएको छ भने यहाँ रहेको एउटा बाघलाई बर्दिया पठाइएको छ । खोर बाघले भरिँदै गएपछि निकुञ्जलाई बाघको आहाराको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेप्रसाद तिवारीले भने, ‘एक वर्षमा यति नै बाघ उद्धार गर्ने भन्ने पूर्वानुमान गर्न सकिँदैन । पछिल्लो समय हामीले सोचेको भन्दा बढी नै संख्यामा बाघहरुलाई नियन्त्रणमा लिनु पर्‍यो । जसका कारण बाघको आहारा, बासस्थान लगायतको व्यवस्थापनमा चुनौती थपिएको छ ।’

बाघलाई नियन्त्रणमा राखेर मात्र हुँदैन उसलाई जोगाउन आवश्यकताको आधारमा आहारा दिनुपर्छ । अहिले ती बाघले एक दिनको फरकमा २० किलो मासु खान्छ । उनीहरुले दैनिक ३० किलोसम्म मासु खान्छन् । थोरै बाघ हुँदा दैनिक आहार दिने गरिएको थियो । तर अहिले सबै खोर भरिभराउ भएपछि एक दिन बिराएर मात्रै मासु दिने गरिएको छ । बाघको आहारा व्यवस्थापनमा मात्रै वाषिर्क १४ लाख रुपैयाँ खर्च हुने गरेको छ ।

चितवनमा ६ वटा खोर छन् । यी सबै भरिएका छन् । ६ वटै खोरमा ६ वटा बाघ रहेको छ । यहाँ राख्ने ठाउँ नभएर निकुञ्जले पर्सा, बर्दिया र बाँके पठाएको छ । अहिले भरतपुर महानगरसाग मिलेर निकुञ्जले भरतपुर-१३ को देवनगरमा चिडियाखाना जस्तो उद्धार केन्द्र बनाउन लागेको छ। पुस माघभित्र त्यो बनेर पूरा हुने निकुञ्जले जनाएको छ । सन् २०२२ को गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ छन् । नेपालभर तीन सय ५५ वटा बाघ छन् ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।