पितमको मृत्युले सिंगो परिवार नै बेसहारा

मंसिर १३, २०८० |रोशन लामिछाने
पितमको मृत्युले सिंगो परिवार नै बेसहारा

स्याङजा । धेरै कमाउने र परिवारको आर्थिक अवस्था सुधार गर्ने योजनासहित दुई महिनाअघि मात्रै रुस पुगेका थिए- स्याङ्जा पुतलीबजार-५ का पितम कार्की । तर, उनको योजना साकार हुन पाएन । उल्टै उनकी श्रीमती र दुई छोरा अभिभावकविहीन भए । 

२०५९ सालमा नेपाली सेनामा भर्ती भएका कार्कीले १६ वर्ष नेपाली सेनामा बिताए । २०७५ सालमा नेपाली सेनाबाट अवकाश लिएका कार्कीले आर्थिक रूपमा परिवारलाई सबल बनाउन सकेनन् । त्यसपछि उनले विदेश जाने र पैसा कमाउने योजना बनाए । सोही योजना अनुसार अफगानिस्तान पुगेका उनले त्यहाँ एक वर्ष बिताए । 

त्यहाँ पनि सोचे जति कमाउन सकेनन् । नेपाल नै फर्किए । साथीहरुसँग मिलेर कार्कीले रुस जाने योजना बनाएछन् । परिवारलाई समेत थाहै नदिई उनी दुई महिनाअघि रुस पुगेर त्यहाँको सेनामा आबद्ध भए । तर, दुर्भाग्य, उनी रहेको बंकरमै मिसाइल बज्रियो । मस्कोस्थित नेपाली दूतावासका अनुसार कार्कीको त्यहीँ निधन भयो ।

हरिबहादुर र इन्द्रकला कार्कीका एक्ला छोरा पितमको मृत्यु भएपछि सिंगो परिवार नै बेसहारा भएको छ । कार्की परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारले पहल गर्नुपर्ने आफन्तको भनाइ छ ।

रुसी सेनामा भर्ती भएका पितमसँगै तीन जनाले ज्यान गुमाएका छन् । रोजगारीका लागि विदेश जानुपर्ने र उतै ज्यान गुमाउनुपर्ने नेपालीको नियति नै बनेको छ । लुकिछिपी कति नेपाली विदेश पुग्छन् र दुर्घटनामा पर्छन् भन्ने यकिन तथ्यांकसमेत सरकारसँग छैन ।

रुसको बंकरमा मारिएका पितमको शव कहिले नेपाल आइपुग्छ यकिन छैन । कार्की परिवारले अहिले पितमको शवको प्रतीक्षा गरिरहेको छ ।


Image

रोशन लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनका स्याङ्जा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement