ब्रह्मायणी मन्दिरमा मेला, दर्शनार्थीको भिड (फोटो फिचर)

कार्तिक ७, २०८० |मुरारी घिमिरे
ब्रह्मायणी मन्दिरमा मेला, दर्शनार्थीको भिड (फोटो फिचर)

काठमाडौं । विजयादशमीको दिन आज भक्तपुर च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । शक्ति स्वरुपा ब्रह्मायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै आजको दिन यहाँ भव्य मेला लाग्ने गर्छ ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, काभ्रे, ललितपुर र काठमाडौंदेखिका भक्तजन आउने गर्छन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

गठेमंगलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय् अर्थात् राँगोलाई नवदुर्गा मन्दिरबाट जाँड खुवाई मत्ताएर लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याएर बध गरेपछि रातिदेखि नै यो मेला सुरु हुने गर्छ ।

आजको बिहान ३ बजेदेखि नै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा दियो बालेर जाने र पूजा गर्ने चलन छ । यसो गरे मनोकांक्षा पूरा हुने र पाप नष्ट हुने जनविश्वास रहेको छ ।


Image

मुरारी घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।