तीन महिनापछि काठमाडौं-ताप्लेजुङ हवाई उडान सुरु

भाद्र १८, २०८० |आनन्द गौतम
तीन महिनापछि काठमाडौं-ताप्लेजुङ हवाई उडान सुरु

ताप्लेजुङ । नेपाल वायु सेवा निगमले करिब तीन महिनापछि काठमाडौं-ताप्लेजुङ हवाई उडान गरेको छ ।

जेठ २६ गतेपछि आज पहिलोपटक काठमाडौंबाट सात जना यात्रु लिएर आएको विमानले ताप्लेजुङबाट भने फुङलिङ नगरपालिका - ९ का राम लावुङ एक जना मात्रै यात्रु लिएर फर्किएको ताप्लेजुङका स्टेसन इञ्चार्ज सचिन तिवारीले जानकारी दिए । प्रतिकूल मौसमका कारण लामो समय यहाँ उडान हुन सकेको थिएन ।

नेपाल वायु सेवा निगमको स्टेसन इन्जार्ज सचित तिवारीले भने, ‘आजदेखि हवाई उडान सुरु भएको छ । काठमाडौंबाट सात जना यात्रु लिएर आएको जहाजले एक जना यात्रु लिएर उडेको छ ।’

सुकेटार विमानस्थलका एटीसी उदय राजवंशीका अनुसार नेपाल एयरलाइन्सले सोमबार, बिहीबार र शनिबार तथा सीता एयरले सोमबार र शनिबार गरी सातामा पाँचवटा उडान तालिका रहेको छ । यात्रु भए दुवैले अब नियमित उडान गर्ने जनाएका छन् ।  


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।