कौडामय बने तनहुँका गाउँ

असार ९, २०८० |प्रताप राना
कौडामय बने तनहुँका गाउँ

तनहुँ । मगर समुदायमा प्रचलित सांस्कृतिक नाच कौडाले तनहुँका अधिकांश गाउँ गुञ्जयमान बनेका छन् । कौडा नाचको सिजन सुरु भएकाले पाको पुस्तादेखि युवासम्म नाचगानमा सक्रिय हुँदा गाउँघर कौडामय बनेका छन् । यसले स्थानीय संस्कृति संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

कौडा नाचको सिजन सुरु हुनासाथ तनहुामा एउटा गाउँका युवतीहरूको निम्तोमा अर्को गाउँका पुरुषहरू यो नाचगानमा सरिक हुन्छन् । पुरानादेखि नयाँ पुस्ताका युवाहरू खैाजडी र झ्याली बजाएर गीत गाउँछन् भने युवतीहरू गीत र खैजेडीको तालमा हाउभाउसहित नाच्ने गर्दछन् ।

कौडाले मगर समुदायको मौलिक नाचको संरक्षण मात्र भएको छैन युवा युवतीको प्रेमसम्बन्ध र फरक फरक गाउँबीचको सम्बन्धलाई प्रगाढ बनाउने काम पनि गरेको छ ।

तनहुँको ऋषिङमा उत्पत्ति भएको मानिने यो नाच गण्डक क्षेत्रका अधिकांश मगर गाउँमा नाचिन्छ । सिजनमा कौडा नाचगान गर्न मगर गाउँमा भ्याइनभ्याइ हुने गर्दछ । कौडा नाचलाई लोप हुन नदिन युवा पुस्ता सक्रिय छन् । चैते दशैंबाट सुरु गरी असार मसान्तसम्म नचाउने प्रचलन भएपनि कौडाको लोकप्रियताले गर्दा समाजमा हुने शुभकार्यहरूमा पनि नचाउने प्रचलन छ । कौडा नाचले मगर समुदायमा भाइचाराको भवना विकास गरी एकतामा जोड दिने संस्कृतविद् बताउँछन् ।

तनहुँ, नवलपुर, स्याङ्गजा, गोरखालगायतका गण्डक क्षेत्रमा मगर समुदायमा निकै लोकप्रिय कौडा नाचको संरक्षणमा राज्यले समेत साथ दिएमा सांस्कृतिक पर्यटन क्षेत्रको समेत विकास हुने थियो ।


Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।