वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो

जेष्ठ २८, २०८० |राजकृष्ण श्रेष्ठ
वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो

नुवाकोट । लोकतन्त्र बहालीपछि तीन तहका सरकारसहितको संघीयताबाट मुलुकले विकासमा फड्को मार्ला भन्ने सबैको अपेक्षा थियो । तर गरिबी, राजनीतिक अस्थिरता, बेरोजगारी र पहुँचवालाहरुकै हालीमुहाली झन् बढ्दै जाँदा देश छाड्नेको लर्को घटेको छैन, बरु बढेको छ । संघीय राजधानी काठमाडौंसँगै जोडिएको जिल्ला नुवाकोटबाट विदेशिनेको तथ्यांकले पनि यही भन्छ ।

नुवाकोट तारकेश्वर ४ बुधसिंहका १८ वर्षीय पवन देवकोटा र किस्पाङ ३, काहुलेकी २७ वर्षीया चमेलीमाया तामाङ चर्को गर्मी नभनी जिल्ला प्रकाशन कार्यालयको झ्यालमा पालो पर्खंदै थिए । खेतबारी वा उद्योगधन्दाको काममा समस्या भएर होइन, राहदानी बनाउन उनीहरुको हतारो हो । १० वर्षको उमेरमा घर छाडेर ८ वर्ष संस्कृत भाषाको अध्ययन गरेका देवकोटाले देशमा भविष्य देखेनन् ।

यस्तै रोजगारीका लागि सात वर्ष दुबई बसेर फर्किएकी तामाङलाई अझै पनि बेथिति र राजनीतिक अस्थिरता सुध्रेला भन्ने लागेन । ‘कोभिडका कारण कम्पनीले कामदार कटौती गरेपछि म फर्किएँ,’ उनले कान्तिपुर टेलिभिजनसँग भनिन्, ‘अब अर्को देश जाने तयारीका लागि पासपोर्ट रिन्यु गर्न आएँ ।’

मुलुकको विकास र समृद्धिको मुख्य आधार युवा शक्ति हो । तर युवा जनशक्तिले देशमा अवसर नदेखेर विदेशिने क्रम बढ्दो छ । आर्थिक उन्नति र पारिवारिक दायित्वको बाध्यताले अरु जिल्लामा जस्तै नुवाकोटमा पनि वैदेशिक रोजगारीको सपना बुन्दै राहदानीका लागि दैनिक सयौं युवाको प्रशासनमा भिड लाग्ने गरेको हो ।

‘कृषिप्रधान देश भनिन्छ, कृषि गरेर खासै खान पुग्दैन,’ दुप्चेश्वर गाउँपालिका ५, बालकुमारी नुवाकोटका बृजेश श्रेष्ठको प्रतिप्रश्न छ, ‘एक महिना काम गरे दुई महिना खान पुग्छ, बाँकीको नौ महिना के गर्ने ? घरपरिवारको आर्थिक स्थितिकै कारण पनि वैदेशिक रोजगारमा जान थालें ।’

वैदेशिक रोजगारीका लागि युवा विदेशिने क्रम बढिरहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारका प्राध्यापक ठाकुर पुडासैनीको बुझाइ छ । ‘यसको मुख्य कारण देशमा उद्योगधन्दाहरुको स्थापना हुन नसक्नु र युवाहरुले आफ्नो देशमा भविष्य नदेख्नु यसको मूल कारण हो ।’

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार यो आर्थिक वर्षको ९ महिनामै १० हजार ६ सयभन्दा धेरैले राहदानी बनाएका छन् । यो संख्या विगतका वर्षभरिको भन्दा दोब्बरले बढी हो । जिल्लामा २०७५ सालयता सरदर साढे ४ हजारले राहदानी बनाउने गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी किरण थापा पनि राहदानी बनाउनेको संख्या बढेको स्वीकार्छन् ।

राहदानी बनाएका सबै विदेश नै जान्छन् भन्ने त छैन । तर राज्यको पुनःसंरचनासँगै विकास, शिक्षा, समृद्धि र रोजगारीको मुद्दा बजेट र चुनावका बेला मात्रै उठाउने अनि पानीको फोका झैं हुने प्रवृत्तिले नुवाकोटका युवा पनि विदेशिन बाध्य भएका हुन् ।


Image

राजकृष्ण श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नुवाकोट संवाददाता हुन् ।