तत्काल सुरक्षाकर्मी आइपुग्छन्, ढुक्कले मतदान गर्नुहोस् : सशस्त्र प्रहरी

मंसिर २, २०७९
तत्काल सुरक्षाकर्मी आइपुग्छन्, ढुक्कले मतदान गर्नुहोस् : सशस्त्र प्रहरी

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते आइतबार हुँदै छ । मतदानको मध्यरातसम्म कायम हुनेगरी बिहीबार रातिदेखि नै भारत र चीनसँग जोडिएका सीमा नाका बन्द छन् । चुनावको सुरक्षा चुनौतीका विषयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग कान्तिपुर टीभीका लागि रमेश धमलाले कुरा गरेका छन् । कुराकानीका क्रममा सशस्त्रका महानिरीक्षक अर्यालले निर्वाचनलाई सहज रुपमा सफल बनाउन सुरक्षा तयारी गरेको जनाएका छन् । प्रस्तुत छ अर्यालसँगको कुराकानीको सम्पादित अंश :

मौनअवधि साथै सीमानाका बिहीबारबाट बन्द भएका छन् । यो अवधिमा के-के गर्न पाइन्छ के गर्न पाइँदैन ?

बिहीबार राति १२ बजेबाट सम्पूर्ण सीमानाका बन्द गरिएका छन् । जसलाई हामी सीमानाका सिल पनि भन्छौं । प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीको एसपी र जिल्ला सुरक्षा समितिको बैठक बसेर निर्णय पनि भएको छ । भारतबाट सीमा सुरक्षामा खटिएका एसएसबीसँग पनि समन्वय गरेर बिहीबार रातिबाट पूर्ण रूपमा आवतजावत निषेध गरिएको छ ।

यो मौन अवधिमा सशस्त्र प्रहरीले आफ्नो फोर्स कसरी तैनाथ गर्छ ?

यो निर्वाचनलाई शान्त र भयरहित बनाउन विभिन्न चुनौतीहरू देखापरेका छन् । खुला सिमाना पनि एउटा चुनौती हो । यसबाट कुने अवाञ्छित क्रियाकलाप नहोस् भन्ने हो । कोभिडका बेला पनि सिमानामा सशस्त्रले आवतजावतमा निषेध गरेको थियो । त्यसबाट पनि हामीले केही फिडब्याक लिएर यसपालि हामीले समकक्षी सुरक्षा निकाय एसएसबीसँग समन्वय गरेका छौं । हामीले जुन-जुन ठाउँमा बीओपी छ त्यहाँ आवश्यकताअनुसार चेक पोइन्ट राख्छौं । हाम्रो चेक प्वाइन्ट नभएको ठाउँमा अल्टरनेटिभ चेक प्वाइन्ट भारतीय एसएसबीले राखिदिने समझदारी भएको छ । निर्वाचनमा नकारात्मक प्रभाव नहोस् भनेर दुवैतर्फको सुरक्षा निकायको फिल्डमा समन्वय छ । केन्द्रीय, प्रदेश र जिल्ला तहमा समकक्षी स्तरमा कुरा भइरहेको छ ।

निर्वाचनको समयमा सीमा क्षेत्रबाट हुने जोखिम कस्ता हुन्छन् ?

हाम्रो सीमा क्षेत्रका नागरिकको विवाहलगायतको सम्बन्ध सीमापारिका नागरिकसँग पनि छ । त्यस कारण सीमा पारिबाट नेपाल आएर निर्वाचनमा प्रभाव पार्ने खालका प्रवृत्ति हुन सक्छन् । साथै प्रमुख चुनौती साना हतियारहरू हुन् । हतियार अवैध रूपमा सीमावारि ल्याएर त्यसको प्रयोग गरी डर, त्रास र धम्की देखाएर निर्वाचनलाई अशान्ति बनाउने, हुन नदिने, भयो भने पनि आफ्ना प्रभावमा पार्न खोज्ने जस्ता चुनौती आउन सक्छन् । त्यसकारण शान्त रुपले सम्पन्न गराउन नाकाहरू सिल गर्नुपर्ने हुन्छ । यसपालि अझ प्रभावकारी रूपले हुन्छ ।

निर्वाचन आउनुअघि अवाञ्छित गतिविधि पनि भइरहेका छन् । बम विस्फोटको घटना पनि भए । यस्तो गतिविधि कसले गराइरहेको छ ?

हामीले यो निर्वाचनमा सुरक्षाका चुनौती के हुन् भनेर पहिलेदेखि नै विश्लेषण गर्दै आएका थियौं । अहिलेका गतिविधि हाम्रो विश्लेषणभन्दा बाहिर छैन । यस्ता गतिविधिले निर्वाचनलाई फरक नपार्ने गरी हामीले सुरक्षा तयारी गरेका छौं । सुरक्षाका चारवटा संगठन, अरू प्रशासनिक निकाय र निर्वाचन आयोगको लक्ष्य निर्वाचनलाई स्वच्छ रूपमा सम्पन्न गराउने हो ।

आममतदातालाई सुरक्षित मतदानस्थलसम्म पुर्‍याउन अहिले तपाईंहरूको जनशक्ति कुन-कुन ठाउँ कसरी खटिएको छ ?

निर्वाचनका लागि हामीले भौगोलिक तवरले हिमाली, पहाडी र तराईका सबै ठाउँमा सशस्त्र प्रहरी बल परिचालन गरेका छौं । सशस्त्र प्रहरी बलले विशेषगरी मोबाइल टोली र स्ट्राइकिङ टोलीहरू परिचालन गरेको छ । प्रत्येक निर्वाचन क्षेत्रमा भौगोलिक आधारमै पहाड, हिमाल र तराईमा छुट्टै तरिकाले परिचालन गरिएको छ । यस समयमा कुनै पनि अवाञ्छित गतिविधिहरू हुन नदिन मतदाताको घरबाट मतदानस्थलसम्म कभर गर्ने, गस्ती गर्ने र चेकप्वाइन्ट राखेर काम गर्नेलगायत योजना सशस्त्र बलको सम्पूर्ण फिल्ड स्तरसम्मै सर्कुलर भइसकेको छ । यसअनुसार सशस्त्र बल खटिइसकेको छ । त्यहाँको भौगोलिक ज्ञान पनि हाम्रो टोलीले लिइसकेको छ । यसका साथै अन्य सुरक्षा संगठन र त्यहाँका राजनीतिक दलहरूसँग समन्वय गरेर यो निर्वाचनलाई भय रहित तरिकाले सम्पन्न गर्न सम्पूर्ण सशस्त्र बल फिल्डमा परिचालित भइसकेको अवस्था छ ।

सुरक्षा निकायले निर्वाचनको समयमा निष्पक्ष भूमिका नखेलेका कारण कहिलेकाहीँ धाँधली भयो, राम्ररी सुरक्षा समन्वय गर्न सकेन भनेर धेरैले आरोप लगाउने गरेका छन् । सुरक्षा निकायबाट त्यस्तो भएको छैन र यसपटक पनि त्यसो हुँदैन भनेर कसरी आश्वस्त पार्नुहुन्छ ?

सुरक्षा संगठनले कहिले पनि कुनै पनि राजनीतिक दलको पक्षमा वा विपक्ष बोल्ने उभिने कुनै क्रियाकलाप कहिल्यै गर्दैन र गर्नु पनि हुँदैन । हामीले निर्वाचनमा खटिने हाम्रो तल्लो निकायसम्म यी सबै जानकारी गराइसकेका छौं । निर्वाचनका बेला कसले के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुरामा अहिले सबैले बुझेका छन्, जानकार पनि छन् । हामीले हाम्रा फिल्डमा खटिएका कर्मचारीले कुरा नबुझ्लान् भनेर आन्तरिक आचारसंहिता बनाएका छौं । त्यसमा गर्न हुने गर्न नहुने कुरा प्रस्ट उल्लेख गरिएको छ । हामीले कसैको पक्षमा पर्नु हुँदैन । कसैको रवाफमा पर्नु हुँदैन । कसैको विरोध गर्नु हुँदैन । कसैको समर्थन गर्नु हुँदैन भनेर सिकाइसकेका छौं । तालिमसमेत प्रदान गरिसकेका छौं । त्यसैले त्यस्तो अवस्था रहँदैन ।

अन्त्यमा, यसपटकको निर्वाचनमा सुरक्षा चुनौतीको सामना गर्ने रणनीति के छ ? अरू सुरक्षा निकायहरूसँगको समन्वय नेपाल सशस्त्र प्रहरी बलले कसरी गर्छ ?

नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायत सबै सुरक्षा निकायसँग केन्द्रीय स्तरदेखि लिएर स्थानीय स्तरसम्मै एकदम राम्रो राम्रो समन्वय छ । अहिलेको हाम्रो सबैभन्दा राम्रो पक्ष भनेको हामी एक छौं, हामीमा एकता छ । भौगोलिक विकटताका कारण कुनै कुनै ठाउँमा सशस्त्र प्रहरी बल तत्काल पुग्न नसक्ने सम्भावना छ भने पनि त्यहाँ नेपाली सेना बस्छ । नेपाली सेना तत्काल पुग्न सक्ने अवस्था छैन भने त्यहाँ सशस्त्र प्रहरी बल बस्छ । यो जिल्लास्तरीय सुरक्षा समितिले त्यो हिसाबको संयन्त्र तयार गरेको छ । तराई वा सहरी इलाकामा केही पर्दा पाँचै मिनेटमा रेस्पोन्स गर्न सक्ने अवस्थामा छौं भने पहाडी इलाकाहरूमा कुनै पनि घटना हुन नदिने र यो निर्वाचनलाई पुनः गर्नुपर्ने अवस्था नआई निर्वाचन सम्पन्न गर्ने लक्ष्य लिएर हामी अघि बढेका छौं ।

अन्त्यमा के विश्वास दिलाउन चाहन्छु भने निर्वाचनमा सहभागी हुन सम्पूर्ण मतदातालाई शान्ति सुरक्षाका हिसाबले कुनै पनि किसिमको असर पर्दैन । यहाँहरू आफ्नो चाहनाअनुसार मतदान गर्न स्वतन्त्र हुनुहुन्छ । यहाँहरूलाई शान्ति सुरक्षासम्बन्धी कुनै पनि किसिमको अवरोध आउँदैन । यदि कुनै ठाउँमा शंकास्पद वस्तु, क्रियाकलाप वा गतिविधि देख्नुभयो भने कृपया नजिकको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई खबर गरिदिनुहोला । यो राष्ट्रकै महाअभियान हो । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न हामी सबैको कर्तव्य हो ।


Enter Kantipur TV HD
Advertisement