वृहस्पति विद्या सदनलाई दिएको २९ रोपनी जग्गा भाडा सम्झौता खारेज

वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
वृहस्पति विद्या सदनलाई दिएको २९ रोपनी जग्गा भाडा सम्झौता खारेज

काठमाडौं । नेपाल बाल संगठनले बृहस्पति विद्या सदनलाई ८२ वर्षका लागि २९ रोपनी जग्गा दिने गरी भएको सम्झौता खारेज गरेको छ ।

संगठनको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई भाडामा दिने यसअघिको सम्झौता खारेज गरेको हो । यसअघि २१३१ सालसम्म सस्तो भाडा दरमा दिने गरी सम्झौता भएको थियो । संगठनकी अध्यक्ष विद्या न्यौपानेले लिज सम्झौता सकिन १७ वर्ष अवधि बाँकी छँदै थप ४३ वर्ष बृहस्पतिलाई दिनेगरी पहिले भएको सम्झौता खारेज गरिएको बताउनुभयो ।

खारेज मिति कहिलेदेखि लागू हुने भन्ने विषय आइतबार बस्ने अर्को बैठकले निर्णय लिने उहाँले जानकारी दिनुभयो ।

संगठनकी तत्कालीन अध्यक्ष रिता सिंह वैद्यसहितका पदाधिकारी तथा स्वार्थ समूहको मिलेमतोमा २९ रोपनी जग्गा वार्षिक ९० लाख रुपैयाँमा भाडा बुझाउने गरी बृहस्पतिले बिनाप्रतिस्पर्धा हात पारेको थियो । बृहस्पतिले जग्गा लिजमा पाएपछि एउटै व्यवस्थापनबाट सञ्चालन हुने गरी भारतीय शिक्षा बोर्डअन्तर्गत सञ्चालित राय स्कुललाई भित्र्याएर पाँच रोपनी सब लिजमा लगाएको थियो । त्यसबापत वार्षिक ६० लाख राय स्कुलबाट लिने गरी बृहस्पतिले सम्झौता गरेको थियो । लिखितमा भने त्यो रकम १ लाखमा देखाइएको छ ।

वि.सं. २०२१ साल मंसिरमा तत्कालीन सरकारले सीता भवन नामले चिनिएको उक्त परिसरको १ सय १९ रोपनी जग्गा राणा प्रधानमन्त्री भीमशम्शेरका खलकलाई मुआब्जा दिई अधिग्रहण गरेको थियो । यसरी अधिग्रहण गरिएको जग्गा अनाथ र असहाय बालबालिकाको रेखदेख, शिक्षा र संरक्षणका लागि बाल संगठन खोली प्रयोग गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.