काठमाडौं । कतारले इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ वार्तामा मध्यस्थकर्ताको आफ्नो भूमिका स्थगित गर्ने भएको छ ।
युद्धरत हमास र इजरायल वार्ताका लागि तयार भए मात्र मध्यस्थता गर्न तयार रहेको कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्यालेस्टिनी समूह हमासले गाजामा युद्ध अन्त्यका लागि नयाँ प्रस्ताव अस्वीकार गरेको आरोप लगाउँदै वरिष्ठ अमेरिकी अधिकारीहरूले कतारमा हमासका प्रतिनिधिहरूको उपस्थिति वाशिंगटनले स्वीकार नगर्ने बताएपछि कतारले यस्तो कदम चालेको बताइएको छ ।
१० दिन अघि कतारले सम्झौताका लागि हमास र इजरायललाई सूचित गरेको थियो । सो विषयमा कुनै सम्झौता नभए उसले हमास र इजरायलबीचको मध्यस्थताको प्रयास रोक्ने विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामा प्रशासनको अनुरोधमा हमासको सन् २०१२ देखि कतारको राजधानीमा कार्यालय सञ्चालन गर्दै आएको छ ।