विवाद साउथ चाइना सी : चीन-फिलिपिन्स पुन: आमनेसामने

वैशाख २०, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
विवाद साउथ चाइना सी : चीन-फिलिपिन्स पुन: आमनेसामने

काठमाडौं । साउथ चाइना सी का विषयलाई लिएर चीन र फिलिपिन्स फेरि एकपटक आमने-सामने भएका छन् ।

फिलिपिन्सको कोस्ट गार्डका दुई जहाजलाई चीनले पानी तोपको प्रयोगबाट क्षति पुर्याएपछि तनाव उत्पन्न भएको हो । फिलिपिन्सले साउथ चाइना सी मा चीनले हस्तक्षेप गरेको आरोप लगाएको छ । फिलिपिन्सको तटीय गार्डका प्रवक्ता कमोडोर जे तारिएलाले बुधबार प्रेस बिफ्रिङमा संयुक्त राष्ट्रसंघको महासन्धिलाई अवहेलना गर्दै चिनियाँ पक्षले पहिलोपटक प्रत्यक्ष रुपमा पानीको तोप प्रयोग गरेको बताएका छन् ।

साउथ चाइना सी को विवादित स्कारबोरो शोलमा मिसनको क्रममा फिलिपिन्सको तटरक्षक जहाजलाई संरचनात्मक रुपमा क्षति पुर्याएको बताइएको छ । चीनको उत्तेजक गतिविधिबीच पनि विवादित क्षेत्र स्कारबोरो शोलमा फिलिपिन्सले आफ्नो मिसन जारी राख्ने तटीय गार्डका प्रवक्ताले स्पष्ट पारेका छन् ।

विवादित स्कारबोरो शोलमा कुनै पनि देशको सार्वभौमिकता नरहेको भन्दै थुप्रै देशले प्रयोग गर्ने मार्ग फिलिपिन्सको विशेष आर्थिक क्षेत्र रहेको उनले स्पष्ट पारेका थिए ।

उता चीनले सम्पूर्ण साउथ चाइना सीको क्षेत्र आफ्नो रहेको भन्दै निरन्तर दाबी गर्दै आएको छ । उसले उक्त क्षेत्रको रेड लाइन क्रस नगर्न चेतावनीसमेत दिँदै आएको छ ।