‘साउथ चाइना सी’ विवाद : चीन-फिलिपिन्स फेरि आमनेसामने

चैत्र १५, २०८० |अन्तर्राष्ट्रिय ब्युरो
‘साउथ चाइना सी’ विवाद : चीन-फिलिपिन्स फेरि आमनेसामने

काठमाडौं । चीनको कोस्ट गार्डले गत शनिबार ‘साउथ चाइना सी’ मा फिलिपिन्सको एउटा डुंगालाई पानी तोपले आक्रमण गर्यो । फिलिपिन्सले अवैध रूपमा भूमिगत युद्धपोत र यातायात निर्माण सामग्रीहरू आपूर्ति गर्ने प्रयास गरिरहेको कारण चीनले आक्रमण गरेको चीनको मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ ।

फिलिपिन्सले साउथ चाइना सीको शान्ति र स्थिरतामा बाधा पुर्‍याइरहेको भन्दै चीनले आक्रमण गरेको बताइएको छ । सो आक्रमणले पुनः एकपटक विश्वजगत्‌मा तहल्का मच्चाएको छ । उक्त क्षेत्रलाई लिएर फेरि एकपटक विश्व ध्रुवीकृत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

साउथ चाइना सीमा भएको आक्रमणको निन्दा गर्दै अमेरिका, जापानसहित भारत पनि खुला रुपमै फिलिपिन्सको समर्थनमा उत्रिएको छ । विवादित साउथ चाइना सीमा भएको झडपपछि अमेरिकाले आफ्नो मुख खोलेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले फिलिपिन्सको सेनाविरुद्ध सशस्त्र आक्रमणको अवस्था आए फिलिपिन्सको रक्षा गर्न मद्दत गर्ने प्रतिबद्धता जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम दी डिप्लोम्याटले लेखेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अप्रिलमा हुने ह्वाइट हाउसको शिखर सम्मेलनमा मार्कोस र जापानी प्रधानमन्त्री फुमियो किसिदासित साउथ चाइना सीमा बढ्दो चिनियाँ कार्य र उत्तर कोरियाको आणविक कार्यक्रममा बढ्दो चिन्ताको बारेमा छलफल गर्ने सम्भावना रहेको बताइएको छ ।

त्यस्तै भारतका विदेशमन्त्री जयशंकरले पनि फिलिपिन्सको समर्थनमा वक्तव्य दिएका छन् । फिलिपिन्सको राजधानी मनिलामा मंगलबार भएको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा विदेशमन्त्री जयशंकरले भने,‘भारतले फिलिपिन्सको राष्ट्रिय सार्वभौमसत्ता कायम राख्न पूर्ण समर्थन गर्छ ।’ फिलिपिन्सलाई समर्थन गरेको भन्दै चीनले आपत्ति जनाएको छ ।

उसले अमेरिका र भारतले साउथ चाइना सीको विषयलाई लिएर एन्टी चाइना क्लबलाई हावा दिइरहेको बताएको छ । र, चीनमाथि दबाब सिर्जन गर्ने प्रयास गरिरहेको ग्लोबल टाइमसले लेखेको छ ।

‘साउथ चाइना सी’ हिन्द र प्रशान्त महासागरको बीचमा छ । यो क्षेत्र चीन, ताइवान, भियतनाम, मलेसिया, इन्डोनेसिया, ब्रुनाई र फिलिपिन्सले घेरिएको छ । इन्डोनेसियाबाहेक अन्य सबै देशले यस क्षेत्रको कुनै न कुनै भागलाई आफ्नो ठान्छन् । सतही रूपमा हेर्ने हो भने साउथ चाइना सीमा साना-ठूला गरी करिब २५० टापु छन् र लगभग सबै टापुहरू बसोबासविहीन छन् । आर्थिक, रणनीतिक र ऐतिहासिक पृष्टभूमि बोकेको कारणले उक्त क्षेत्रलाई थुप्रै देशले प्राप्त गर्न संघर्ष गरिरहेका छन् ।

यति मात्र होइन, चीनले फिलिपिन्सबाहेक अन्य देशहरुसँग पनि भूभागको दाबीलाई लिएर लडिरहेको छ । चीनले लगभग पूरै साउथ चाइना सीमा आफ्नो दाबी गर्दै आएको छ । तर, यो दाबी छिमेकी राष्ट्रहरूलाई स्वीकार्य छैन । अन्तर्राष्ट्रिय कानुनले पनि चीनको दाबीलाई अस्वीकार गरेको छ । यति हुँदाहुँदै पनि चीनले विभिन्न रणनीति अपनाएर विवादित क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन खोजिरहेको छ । साउथ चाइना सीका लागि चीनले विश्वसँग दुस्मनी लिइरहेको छ ।

चीनका लागि यो समुद्रको टुक्रा ऐतिहासिक महत्त्वमा मात्र सीमित छैन । वास्तवमा, यो स्थान आर्थिक रूपमा महत्त्वपूर्ण साबित हुन सक्छ । यो समुद्रको टुक्रामुनि कच्चा तेलको खजाना रहेको दाबी गरिएको छ । खजानाको सही रकमको बारेमा कुनै स्पष्ट जानकारी छैन । तर, अमेरिकी थिंक ट्यांक सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) ले साउथ चाइना सीमुनि कम्तिमा १९० ट्रिलियन क्युबिक फिट प्राकृतिक ग्यास र ११ अर्ब ब्यारेल कच्चा तेल रहेको बताएको छ । त्यहाँ ३० हजार प्रकारका माछा पाइने गरेको कारण पनि यो धेरै महत्त्वपूर्ण छ । प्रतिवेदनअनुसार साउथ चाइना सीमा करोडौं रुपैयाँको माछापालन व्यवसाय भइरहेको छ ।

साउथ चाइना सीलाई लिएर अमेरिका किन सक्रिय ?

स्रोतसाधन र ऐतिहासिक महत्त्वका साथै यस स्थानको सामरिक महत्त्व पनि छ । साउथ चाइना सी संसारको सबैभन्दा व्यस्त समुद्री मार्गमध्ये एक हो । संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास सम्मेलनले गरेको अनुमानअनुसार विश्वको ८० प्रतिशत व्यापार समुद्री मार्गबाट हुने गरेको छ भने करिब एकतिहाइ व्यापार साउथ चाइना सीबाट हुने गरेको छ ।

रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका अनुसार यस मार्गबाट वार्षिक करिब ३.३७ ट्रिलियन डलरको व्यापार हुन्छ । अमेरिकाले ताइवानबाट किन्ने कम्प्युटर चिपहरू यही बाटो भएर जान्छ । यस क्षेत्रबाट यसका युद्धपोतहरू पनि नियमित आवतजावत गर्छन् ।

त्यसैले साउथ चाइना सी मुद्दामा अमेरिकाको पनि धेरै चासो छ । यदि चीन आफ्नो योजना पूरा गर्न सफल भयो भने उसले साउथ चाइना सीमा नो फ्लाई जोन पनि बनाउन सक्छ । यदि यसो भयो भने यस क्षेत्रबाट लडाकु विमानहरू गुज्रन प्रतिबन्ध लगाउन सक्छ ।



Enter Kantipur TV HD
Advertisement