मुख्यमन्त्री केजरीवाललाई रिहाइको आदेश दिन दिल्ली उच्च अदालतद्वारा अस्वीकार

अमेरिकी विदेश मन्त्रालयको अभिव्यक्तिप्रति भारतको आपत्ति
चैत्र १४, २०८० |अन्तर्राष्ट्रिय ब्युरो
मुख्यमन्त्री केजरीवाललाई रिहाइको आदेश दिन दिल्ली उच्च अदालतद्वारा अस्वीकार

काठमाडौं । दिल्ली उच्च अदालतले मदिरा नीति घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा रहेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रिहाइ गर्ने आदेश दिन अस्वीकार गरेको छ ।

उच्च अदालतले ईडीको गिरफ्तारी गैरकानुनी रहेको भन्दै केजरीवालले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ गरे पनि उनले माग गरेबमोजिम तत्काल रिहा गर्ने आदेश भने दिएन । अदालतले ईडीलाई यस विषयमा आगामी अप्रिल २ सम्म लिखित जवाफ बुझाउन आदेश दिएको छ भने अर्को सुनुवाइका लागि अप्रिल ३ को मिति तोकेको छ ।

यसैबीच केजरीवालको गिरफ्तारीका विषयमा दिएको बयानलाई लिएर आजै भारतले अमेरिकासँग औपचारिक आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयले दिल्लीस्थित अमेरिकी दूतावासका कार्यवाहक उपप्रमुख ग्लोरिया बर्बेनालाई झिकाएर करिब ४० मिनेट यही विषयमा कुराकानी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वार्ताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

एक दिनअघि मात्रै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले केजरीवाललाई गिरफ्तार गरिएको विषय निगरानीमा राखेको भन्दै स्वच्छ र छिटो कानुनी प्रक्रिया अघि बढाइने कुरा सुनिश्चित गर्न भारत सरकारलाई आह्वान गरेका थिए ।

यसको केही दिनअघि मात्रै जर्मनको विदेश मन्त्रालयले अन्य कुनै पनि भारतीय नागरिक झैं केजरीवालको विषयमा पनि स्वच्छ र निष्पक्ष सुनुवाइ गरिनुपर्नेमा जोड दिएको थियो । भारतीय विदेश मन्त्रालयले तत्काल दिल्लीस्थित जर्मन राजदूतलाई बोलाएर आन्तरिक मामिलामा खुला हस्तक्षेप भन्दै आपत्ति जनाएको थियो ।

भारतीय राजस्व विभागअन्तर्गतको शक्तिशाली निकाय प्रवर्तन निर्देशनालय ईडीले गत बिहीबार राति केजरीवाललाई गिरफ्तार गरेको थियो भने तल्लो अदालतले उनलाई मार्च २८ सम्म हिरासतमा राख्न अनुमति दिएको छ । केजरीवाल आम आदमी पार्टीका राष्ट्रिय संयोजक पनि हुन् ।



Enter Kantipur TV HD
Advertisement